मंगलबार , बैसाख २९, २०८३

१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेलगत्तै नेकपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग सरकार गठनबारे छलफल सुरु गरेका छन् । तर, कांग्रेसकै नेताहरु चाहिँ आफ्नो पार्टी प्रतिपक्षमै बस्नुपर्ने र पार्टी सभापति शेरबहादुर देउवाले नैतिकताका आधारमा प्रधानमन्त्री नबन्ने घोषणा गर्नुपर्ने बताउन थालेका छन् ।

गृहनगर बिराटनगरमा रहेका कांग्रेस नेता डा. शेखर कोइरालाले अनलाइनखबरसँग भने, ‘हामी प्रतिगमनविरोधी आन्दोलनमा दृढतापूर्वक उभिएको भए ओलीको प्रतिगमन अस्ति नै सच्चिइसक्ने थियो । यसमा सभापति शेरबहादुर देउवाजी पनि जनताको आशंकाको घेरामा हुनुहुन्छ । त्यसैले, अब देउवाजीले म नैतिकताका आधारमा प्रधानमन्त्री बन्दिनँ भनेर घोषणा गर्नुपर्छ ।’

डा. कोइरालाले अबको परिस्थितमा नेपाली कांग्रेस प्रतिपक्षमै रहनुपर्ने बताए । ‘मेरो विचारमा कांग्रेसले प्रतिपक्षकै भूमिका खेल्नुपर्छ, किनभने हामीले पार्टीको सम्पूर्ण ध्यान महाधिवशेनमा लगाउनुपर्ने भएको छ । अर्को कुरा, जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्यान्डेड दिएका छन् ।’

अहिले नै मिलिजुली प्रधानमन्त्रीको आशा गर्नुभन्दा आगामी चुनावबाट कांग्रेसले बहुमतको सरकारको नेतृत्व गर्न सक्ने डा. कोइरालाले बताए । उनले भने, ‘मेरो विचारमा अब दुई वर्ष पनि कुर्नुपर्दैन, एक/डेढ वर्षपछि नै अर्ली निर्वाचनमा हुन सक्छ ।’

नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुभन्दा प्रतिपक्षमै बस्नु उचित हुने दोहोर्‍याउँदै डा. कोइरालाले प्रचण्ड-माधव समूहलाई सरकार गठनका लागि सघाउन सकिने बताए । उनले भने ‘एक त अहिलेसम्म नेकपा वैधानिकरुपमा फुटिसकेको छैन, दोस्रो- नेकपा फुट्यो भने पनि कांग्रेस संसदमा तेस्रो दल हुनेछ । संसदीय अभ्यासमा संख्याको गेम हुन्छ ।’

डा. कोइरालाले अगाडि भने,’राजनीतिमा नैतिकता र संस्कार चाहिन्छ । गत चुनाव नेकपाले जितेर आएको हो, त्यो पार्टी फुटे पनि कांग्रेस तेस्रो दल हो । आगामी चुनावमा बहुमत ल्याएर सरकारमा जाँदा त्यो नैतिक हुन्छ ।’

अब सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्ने स्थिति आयो भने पनि पार्टीले देउवाको विकल्प दिन सक्ने संकेत गर्दै डा. कोइरालाले भने, ‘नेपाली कांग्रेसमा प्रधानमन्त्री चलाउन सक्ने नेताहरु एक से एक हुनुहुन्छ ।’

‘ओलीसँग मिल्नहुँदैन’

कांग्रेस केन्द्रीय सदस्य कोइरालाले अबको संसदीय जोडघटाउका क्रममा नेपाली कांग्रेसले केपी ओलीसँग सहकार्य गर्न नहुने बताए । ओलीको कदमलाई असंवैधानिक र प्रतिगामी भनिसकेको अवस्थामा अहिले आएर उनीसँग सहकार्य गर्नु अनैतिक हुने डा. कोइरालाको बुझाइ छ ।

‘पुस ५ को कदमअघि नै धेरै पहिलेदेखि मैले केपी ओली अधिनायकवादतर्फ बढिरहेको बताउँदै आएको थिएँ, सर्वोच्च अदालतको निर्णयपछि त त्यो झनै पुष्टि भयो’ डा. कोइरालाले अनलाइनखबरसँग कुराकानी गर्दै भने, ‘अब नेपाली कांग्रेसले ओलीसँग मिलेर जानुहुँदैन ।’

संसद विघटनविरुद्धको मुद्दामा न्यायालयमाथि ओली सरकारले चर्को दबाव दिएको बताउँदै कोइरालाले भने, ‘हामीले स्वतन्त्र र निश्पक्षरुपमा फैसला आउनुपर्छ भनेका थियौं, अदालतबाट त्यस्तै निश्पक्ष निर्णय आयो, यसबाट अदालतप्रति जनताको आस्था विश्वास बढेको छ । अब संविधान ट्रयाकमा आएको छ ।’

नयाँ सरकार गठनका विकल्प

संसद पुनस्थापना भइसकेपछि अब नयाँ सरकार गठनका तीन/चारवटा विकल्पहरु रहेको डा. कोइरालाको विश्लेषण छ ।

पहिलो- उहाँहरु (नेकपा) मिल्न सक्नुहुन्छ । अहिले केपी ओली नै संसदीय दलको नेता हुनुहुन्छ, नेता हेरफेर गरेर नेकपाले आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउन सक्छ ।

दोस्रो- ओली समूहले कांग्रेसलाई तपाईहरुको नेतृत्वमा सरकार बनाउनोस्, हामी सघाउँछौं भन्न सक्छ ।

तेस्रो – प्रचण्ड-माधव समूहले कांग्रेसलाई सरकारको नेतृत्व गर्ने प्रस्ताव राख्न सक्छ । र, उनीहरुसँग मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव आउन सक्छ ।

चौथो- प्रचण्ड-माधव समूहले सरकारको नेतृत्व गर्ने र कांग्रेसलाई सहयोग माग्न सक्ने अर्को विकल्प पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP