मंगलबार , बैसाख २९, २०८३

बुटवल। नेपाली काँग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले केपि ओलीको नेतृत्वबाट मुलुकको विकास र समृद्ध सम्भव नभएको बताउनु भएको छ । उहाँले मुलुकमा समन्वयकारी नेतृत्वको आवश्यकता रहेको बताउँदै त्यो क्षमता काँग्रेस सभापति शेरबहादुर देउवामा रहेको दावी गर्नुभयो । ‘मुलुकमा विभाजनकारी होईन, समन्वयकारी नेतृत्वको आवश्यकता छ ।’ उहाँले एमाले अध्यक्ष केपि ओलीलाई ईङ्गित गर्दै भन्नुभयो–‘काम नगर्ने, कुरा मात्रै गर्ने प्रबृत्तिको नेताबाट देशको विकास समृद्धि सम्भव छैन, देशले जिम्मेवार नेतृत्व खोजेको छ, त्यो नेतृत्व काँग्रेसले मात्रै गर्न सक्छ ।’

नेपाली काँग्रेस चुनाव प्रचार प्रसार समिति अन्तरगत गठित खेलकुद क्षेत्र समन्वय समितिले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अहिलेको निर्वाचन व्यवस्थाको रक्षा गर्ने की व्यवस्थालाई अझै कमजोर बनाउने भन्ने विचको रहेको भनाई राख्नुभयो ।

संविधान, प्राप्त उपलब्धि रक्षा गर्न तथा देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनको लागि काँग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले संविधान र व्यवस्थाको रक्षा गर्दै युवालाई शिक्षा र रोजगारीको ग्यारेन्टी काँग्रेसले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै अर्का केन्द्रीय सदस्य उमेशजंग रायमाझीले शान्ति र भयरहित समाज निर्माणको लागि पनि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

रुपन्देहीको क्षेत्र नं. २ मा काँग्रेसको नेतृत्वमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रतिनीधि सभा सदस्यमा जनमुक्तिका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापा तथा प्रदेश सभा क मा नेपाली काँग्रेसका युवा नेता दीर्घबहादुर (कुमार) केसी र प्रदेश सभा ख मा माओवादी केन्द्रका नेता बामदेव क्षेत्री उम्मेदवार हुनुहुन्छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार केशवबहादुर थापाले एमाले अध्यक्ष केपी ओलीको हिटलरी शासन र ज्ञानेन्द्र शाह बन्ने भित्रि चाहना रोक्नको लागि पनि सत्ता गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताउँदै त्यसमा सहयोग गर्न अपिल गर्नुभयो । उहाँले यस अगाडिको संसदमा जनमुक्ति संसद बाहिर भएपनि एमालेको सर्वसत्तावाद शैलीको सधै विरोध गरिरहेको भनाई राख्नुभयो । उहाँले सत्ता गठबन्धनसंग अहिले मात्रै नभएर भविश्यमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै प्रदेश सभा क का उम्मेद्वार काँग्रेसका युवा नेता दीर्घबहादुर (कुमार) केसीले अहिलेसम्म खेलकुद क्षेत्रलाई उपेक्षा गरिएको बताउँदै आगामी दिनमा खेलकुद क्षेत्रलाई ससक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रमा रंगशाला बनाउने प्रतिवद्धता व्यक्त गर्दै अन्य खेलकुदका पूर्वाधार निर्माण तथा खेलाडीलाई व्यवसायिक विकास गर्न पहल गर्ने बताउनु भयो ।

उहाँले यहाँका मतदाताको आवश्यकता अनुसार काम गर्ने बताउँदै त्यसमा आफू पूर्ण प्रतिवद्ध रहेको भनाई राख्नुभयो । ‘यहाँका जनताको आवश्यकता नै मेरो आवश्यकता हो ।’ उम्मेद्वार केसीले भन्नुभयो–‘यहाँका जनताको मनोभावना अनुसार काम गर्ने छु ।’ उहाँले यो पदमा एक पटक मात्रै रहने बताउँदै अर्को निर्वाचनमा राम्रो काम गर्न सकेमा प्रतिनीधि सभामा जाने र यो स्थानमा युवालाई नेतृत्व हस्तान्तरण गर्ने पनि बताउनु भयो ।

नेपाली काँग्रेस निर्वाचन प्रचार प्रसार समिति खेलकुद क्षेत्र समन्वय उपसमितिका संयोजक कर्माछिरिङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनीधि रीता सेन वली, प्रचार प्रसार समितिका सहसंयोजक शुभराज बस्नेत लगायतले भनाई राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP