मंगलबार , बैसाख २९, २०८३

भैरहवा ।गृहमन्त्री बालकृष्ण खाँणले युवाहरु लागूऔषध प्रयोग र ओसारपसारबाट टाढा रहनुपर्नेमा जोड दिएका छन् । लागूऔषधको प्रयोग र ओसारपसारले राष्ट्रका कर्णधार मानिने युवापुस्ताहरुको स्वास्थ्य जोखिममा पर्ने, विभिन्न कानूनविपरीतका कार्यमा संलग्न हुने जस्ता जोखिम बढ्ने जनाउँदै गृहमन्त्री खाणँले यसबाट सबै युवायुवतीहरु सचेत र सजग रहनुपर्ने बताए । उनले लागूऔषधको नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र रोकथाम तथा सचेतनाका कार्यक्रमहरु पनि गरिरहेको जनाए ।

पाँच दलीय गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार समेत रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले सोमबार भैरहवामा आयोजित रुपन्देहीमा क्रियाशील रोटरी क्लबहरुसँगको छलफलमा बोल्दै युवाहरुलाई कुलतबाट जोगाउन र आगूऔषधको नियन्त्रणमा सरकारसँगै सबै एकजुट भएर लाग्नु पर्ने बताए ।

‘तीनै तहका सरकारले आफ्नो तहबाट काम गरिरहेका छन्, यसमा रोटरी जस्ता सामाजिक संघसंस्थाहरुको साथसहयोगले लागूऔषधको दुव्र्यसनीलाई निर्मूल पार्न सहयोग पुग्छ’, उनले भने, ‘रुपन्देहीका धेरै रोटरी लगायतका सामाजिक संघसंस्थाले यस क्षेत्रमा काम पनि गर्नुभएको छ, आगामी दिनमा पनि गर्दै जानुहोला । यसमा सरकारको साथ र सहयोग रहन्छ ।’

गृहमन्त्री खाँणले युवालाई आफ्नो जीवन आफै वर्वाद पार्नु हुँदैन भनेर सचेत गराउनुपर्नेमा जोड दिए । सरकारले युवा लक्षित धेरै कार्यक्रमहरु ल्याएको र आउँदा दिनमा पनि ल्याउने बताउँदै उनले कुलतबाट टाढा रहन सबैलाई अपिल गरे । ‘युवाहरुले नयाँ योजना बनाउने, क्रियटिभ काम गर्ने र समाज, राष्ट्र निर्माणमा योगदान दिनुपर्छ’, उनले भने, ‘जीवनको उर्जावान र केही गरेर समाज तथा राष्ट्रमा स्थापित हुने उमेरमा कुलतमा फसियो भने राम्रो हुँदैन, घरपरिवार र राष्ट्रकै लागि पनि ठीक ठहरिँदैन । त्यसैले युवा उर्जावान हुनुपर्छ । नेतृत्वकर्ता बन्नुपर्छ ।’

उनले सुरक्षा निकाय, सरकारका विभिन्न निकायले लागूऔषध नियान्त्रण, रोकथाम र सचेतनाका क्षेत्रमा काम गरिरहेको बताए । सरकारी निकायलाई अझै प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लागूऔषध रोकथाममा सरकारले काम गर्ने गृममन्त्री खाँणले प्रतिबद्धता जनाए । लागूऔषध जस्तो घरपरिवार, समाज, राष्ट्र र कानूनले नै बर्जित गरेका कुराहरुमा युवापुस्तादेखि कोही पनि नागरिक लाग्न नहुनेमा उनले जोड दिए । समाज परिवर्तनको सम्बाहक युवाहरुले हरेक क्षेत्रलाई अग्रगतिमा अगाडि बढाउन काम गर्नु पर्ने गृहमन्त्री खाँणको भनाई छ ।

उनले युवाहरु रोटरी जस्ता सामाजिक संस्थामा लागि समाज परिवर्तमान अगाडि बढ्ने, क्षमता विकास गर्ने, उद्यमशील बन्नुपर्ने सुझाव दिए । यस्तो काम गरे युवाहरु समाजमा स्थापित हुने जनाए । खाँणले रोटरी र रोट्रयाक्ट क्लबहरुले स्वास्थ्य, शिक्षा, समाजसेवा, विपदमा सरकारसँग हातेमालो लगायत थुप्रै क्षेत्रमा प्रशंसनीय काम गरेको बताए । यस्ता संस्थाहरुसँग हातेमालो गरेर सरकार काम गर्न तयार रहेको उनले जनाए ।

यस्तै, नेपाल महिला संघ बुटवल उपमहानगरपालिका–१५ ले सोमबार सेमलारमा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्न योजना बनाएर अघि बढ्ने जनाए । उनले लामो संघर्षपछि राजनीतिक व्यवस्था परिवर्तन भए पनि अहिलेसम्म नागरिकको अवस्था परिवर्तन गर्न नसकिएको बताए । ‘अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने योजना ल्याउनमा ध्यान केन्द्रित गर्ने छ’, उनले भने । खाँणले नागरिकको अवस्था परिवर्तन गर्न बलियो सरकार आवश्यक हुने समेत बताए । ‘बलियो सरकार बनाउने गरि सिट जित्नका लागि पनि यो निर्वाचनमा पाँच दलीय गठबन्धन गरिएको हो’, उनले भने ।

कर्णालीबासी, दलित, महिला, जनजाति र मधेसीको हक अधिकारका बारेमा संसदमा वकालत गर्न कानुनमै उनीहरुको निश्चित सिट छुट्टाइएकाले संविधान सभाबाट जारी संविधान समावेशीताको हकमा उत्कृष्ट रहेको खाँणले दावी गरे । कार्यक्रममा विष्णुमाया शर्माको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचनमा महिला परिचालन समिति बनाएको घोषणा गरिएको थियो । समितिका पदाधिकारी र सदस्यलाई गृहमन्त्री खाणले निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन क्रियाशील हुन आग्रह गरे ।

भैरहवामा भएको कार्यक्रममा बोल्दै गठबन्धनका तर्फबाट क्षेत्र नम्बर ३ (क) का उम्मेदवार एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सन्तोषकुमार पाण्डेले रोटरी क्लब र रोट्रयाक्ट क्लबलाई शहरी क्षेत्रको साथै ग्रामीण केन्द्रमा पनि सामाजिक काममा लाग्न आग्रह गरे । उनले अहिले शहरी तथा ग्रामीण क्षेत्रमा पनि लागूऔषध लगायतको कुलतमा युवाहरु फस्दै गइरहेकाले यस्ता क्लबहरुले दुवै क्षेत्रमा निगरानीका साथै सचेतनामूलक काम गर्नुपर्नेमा उनले जोड दिए । उनले पाँच दलीय गठबन्धनले नै राष्ट्रको नेतृत्व गर्ने र सबै क्षेत्रको सन्तुलित विकास गर्ने जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP