मंगलबार , बैसाख २९, २०८३

बागलुङ । खुङ्खानी, नर्जाखानी र थास्पुरी गाउँ बागलुङकै सबैभन्दा दुर्गम गाउँ हुन् । यहाँका गाउँहरु नजिक देखिए पनि भौगोलिक विकटताका कारण एकदेखि अर्को गाउँ पुग्न घण्टौं लाग्छ । खुङ्खानीमा माध्यमिक तहको विद्यालय छ ।

थास्पुरी र नर्जाखानीका विद्यार्थी पढ्न त्यहीँ पुग्नुपर्छ । खुङ्खानी पुग्न करिब तीन घण्टा लाग्थ्यो तर अहिले त्यो समय छोटिएको छ । तीन वर्ष अगाडि तमानखोला गाउँपालिका–५ खुुङ्खानीदेखि ठूलो बिसौना जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि करिब डेढ घण्टा समय छोटिएको हो ।

झोलुङ्गे पुलले दुई गाउँ जोडिएपछि स्थानीय समेत हर्षित बनेका छन् । पुलले दुई गाउँलाई मात्र जोडेन गाउँलेको मनलाई पनि नजिक बनाएको छ । डेढ घण्टा लगाएर खुङ्खानी खोला वारपार गर्ने स्थानीय र विद्यार्थी अहिले पाँच आधा घण्टामै खुङ्खानी–ठूलाबिसौना गर्नसक्ने स्थानीय गोविन्द छन्त्यालले बताए । उनले यो झोलुङ्गे पुलले यस क्षेत्रका नागरिकको दैनिकीनै परिवर्तन गरी दिएको बताउँछन् ।

उनले भने, ‘यो पुलले हाम्रो जनजीवनलाई सहज बनाएको छ, तीन वर्ष अगाडिसम्म निकै कठिन थियो खोला वारपार गर्न, गाउँ माथि–माथि छन्, खोल निकै तल छ, गाउँहरु नजिक देखिन्छन् तर बीचमा खोला भएको कारण एउटा गाउँदेखि अर्को गाउँमा जान घण्टौँ लाग्थ्यो, विद्यार्थी पारिको गाउँबाट आउनुपर्ने, उनीहरुले पनि निकै समस्या भोगे, अहिले धेरै सजिलो भएको छ, पारिको गाउँमा जान पनि धेरै समय लाग्दैन, विद्यार्थी पनि निकै खुसी भएका छन् ।’

उनले खुङ्खानीका स्थानीयको जग्गा, जमिन र गोठहरु खोलापारिको गाउँ ठूला बिसौनामा रहेको र खेतीपाती पनि उतै गर्नुपर्ने हुँदा आवतजावतमा निकै समस्या भोगेको स्मरण गरे । छन्त्यालले पुल बनेपछि बिहान उठेर बारीमा काम गर्न गए पनि अबेर फर्किनुपर्ने अवस्थाको अन्त्य भएको बताए । अहिले दैनिकी समेत सहज बन्दै गएको उनको भनाइ छ । पुलले बाहिरी मान्छेलाई समेत आकर्षित गरेको बताए ।

‘यहाँका धेरै मान्छेको जग्गा, जमिन र गोठहरु पारि छन्, उनीहरु दैनिक कामकाज गर्न ठूला बिसौना जानुपर्छ, पुल नबन्दा उनीहरु गोठमा दुई घण्टा लगाएर पुग्थे भने अहिले ३० मिनेटमै पुग्न सक्छन्’, उनले भने, ‘हाम्रो घाँस दाउरा गर्ने वन पनि पारिनै भएको हुँदा पुलले जङ्गलबाट घाँस दाउरा ल्याउनसमेत सहज बनाएको छ, अहिले त पहिलेको जस्तो बारी र गोठमा काम गरेर फर्किन घण्टौँ लाग्दैन ।’

खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालयमा पढ्ने थास्पुरीका प्रेम सेन्चुरीले पुल आफूहरुका लागि वरदान सावित भएको बताए । उनले विद्यालय आउन जान निकै सहज भएको र पढाइ समेत राम्रो हुँदै गएको भन्दै खुशी व्यक्त गरे । उनले भने, ‘स्कूलभन्दा गाउँ पारि छ, दैनिकै आउजाउ गर्दा निकै गाह्रो हुन्थ्यो, तल खोलामा झर्न एक घण्टा, खोलाबाट स्कुल पुग्न साढे एक घण्टा लाग्थ्यो, अहिले आधा घण्टामै पुग्न सकिन्छ, पहिले धेरैँ हिँडेर थकाइ लागेर होला पढाइतिर खासै ध्यान जाँदैनथ्यो, निद्रा मात्रै लाग्थ्यो अहिले पढाइ पनि राम्रो हुँदै गएको छ ।’

उनले पुल नबन्दा आफूहरु बिहान ७ः३० बजे विद्यालय हिँड्ने गरेको सुनाउँँदै सेन्चुरीले अहिले ९ बजेपछि हिँडे पनि समयमै पुग्न सकिने बताए । पुल बनेपछि थास्पुरी, नर्जाखानी, भित्रिवन, खुङ्खानीलगायत यस स्थानका करिब तीन सय घरधुरीका नागरिक यो पुलबाट प्रत्यक्ष लाभान्वित भएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए ।

स्थानीयले वर्षौंदेखि धेरै सास्ती खेप्दै आएका हुँदा यहाँ पुल निर्माण गरिएको उनको भनाइ थियोे । यो पुल पश्चिम बागलुङकै सबैभन्दा लामो र अग्लो स्थानमा भएको स्थानीय दाबी गर्छन् । यसको लम्बाइ तीन सय ३३ मिटर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP