सोमबार , अषोज २६, २०८३

खानेपानी मन्त्री मणिचन्द्र थापाले सोमबार मेलम्ची सुरूङमा पानी परीक्षण गर्ने कामको सुरूवात गरेका छन्।

युवा तथा खेलकुद मन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसहित सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजना स्थल पुगेका मन्त्री थापाले कन्ट्रोल कक्षको स्वीच थिचेर सुरूङमा पानी पठाएका हुन्।

दोस्रो पटक आयोजनाको सुरूङमा पानी पठाउने काम सोमबारदेखि सुरू गरिएको छ। यसअघि गत असारमा सुरूङ परीक्षण गर्दा दुर्घटना भएर आयोजनाका दुई कर्मचारीको मृत्यु भएको थियो।

हाललाई अस्थायी बाँध बनाएर सुरूङ मार्गमा पानी पठाउन थालिएको छ। सुरूङमा प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटरका दरले पानी प्रवाह गरिएको छ। सुरूङ २६ किलोमिटरको छ।

सुरूङमा पानी पठाउन सुरू गरेपछि मेलम्ची खोला, अडिट टनेल रहेको स्थान सिन्धु, ग्याल्थुमलगायत क्षेत्रमा कुनै पनि बेला पानीको बहाब बढ्न सक्ने भएकाले सतर्क रहन आयोजनाले सर्वसाधारणलाई आग्रह गरेको छ।

आयोजना स्थल पुगेका मन्त्री थापाले सुरूङमा आजदेखि १६ गतेसम्म पानी हालिने बताए। सुरूङमा पानी भरिन करिब १६ दिन लाग्ने उनले जानकारी दिए।

‘१६ दिनमा सुरूङमा पानी भरिन्छ,’ आयोजना स्थलमा पत्रकारहरूसँग मन्त्री थापाले भने। उनले सुरूङमा पठाएको पानी सुन्दरीजलमा आउने बताए।

‘काठमाडौं उपत्यकामा पानी आउन तीन महिना लाग्छ,’ उनले भने, ‘परीक्षण सफल भएपछि नियमित रूपमा पानी आउँछ। तीन महिनाभित्र पानी खाने परिस्थिति बन्छ भन्ने मन्त्रालयको निश्कर्ष छ।’

आयोजनाका इञ्जिनियर शेखर खनालका अनुसार असारमा दुर्घटना भएको स्थलमा बलियो गरी मर्मतसम्भार गरिएको छ। त्यसबेला दुर्घटना हुँदा उनी पनि घाइते थिए।

‘गेट सुरक्षामा पहिलेका कमजोरी सुधार गरिएका छन्। बलियोसँग ढलान गरिएको छ। गेट पहिले बाहिर खुल्थ्यो, अहिले भित्र खुल्ने गरी तयार पारिएको छ,’ उनले भने।

उनले सुरूङ परीक्षण गर्न करिब दुई महिना समय लाग्ने पनि बताए।

‘सुरूङमा पानी भरिन १६ दिन लाग्छ। त्यो पानी १० दिन त्यसै छाड्छौं र त्यसलाई बाहिर निकाल्न पनि केही समय लाग्छ। करिब ५५ दिनमा परीक्षणका काम सकिन्छ,’ उनले भने।

आयोजना पछिल्लो समय चीनको सिनो हाइड्रोले निर्माण गरिरहेको छ।

काठमाडौंमा खानेपानी उपलब्ध गराउन सरकारले २०२९ सालदेखि नै विकल्पहरू खोजिरहेको थियो। २०४१ मा मेलम्चीलगायत विभिन्न २२ विकल्प पहिचान गरिएको थियो। त्यसपछि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भई काम हुँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP