मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको खर्च सीमाबारे आज (मंगलबार) राजनीतिक दलहरूसँग छलफल गर्दैछ । प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई खर्च सीमाबारे छलफल गर्न आयोगले आज बोलाएको छ ।

आयोगले खर्च सीमा बढाउने तयारी गरेको छ । खर्च सीमा बढाइए पनि यसलाई वैज्ञानिक बनाउन लागिएको आयोगले जनाएको छ । ०७४ को निर्वाचनमा प्रदेश सभातर्फ प्रतिउम्मेदवार १५ लाख र प्रतिनिधि सभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकिएको थियो । त्यसको आधार पुष्टि नहुने भन्दै विरोध गरिएपछि आयोगले खर्च सीमाबारे नयाँ प्रस्ताव अघि सारेको हो ।

आयोगले अघि सारेको प्रस्तावानुसार एउटै जिल्लाको निर्वाचन क्षेत्रपिच्छे खर्च सीमा फरक-फरक हुनसक्छ । आयोगको राजनीतिक शाखाका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार खर्च सीमामा तीन विषयलाई आधार बनाइएको छ । निर्वाचन क्षेत्रको मतदाता संख्या, निर्वाचन क्षेत्रको भूगोलको क्षेत्रफल र ०७४ देखि ०७९ सालसम्म भएको मुद्रास्फीतिको दरलाई आधार बनाइएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ ०७४ को भन्दा प्रतिउम्मेदवार सात लाख रुपैयाँसम्म खर्च बढाउने प्रस्ताव गरिएको छ । त्यो निर्वाचनमा प्रतिनिधि सभातर्फ २५ लाखको खर्च सीमा निर्धारण गरिएको थियो । योपटक ३३ लाख पुर्याउने आयोगको तयारी छ ।

आयोगको प्रस्तावानुसार १६५ मध्ये यो पटक पाँच निर्वाचन क्षेत्रमा २५ लाखसम्मको खर्च सीमा निर्धारण गरिने छ । यस्तै, २३ निर्वाचन क्षेत्रमा २७ लाख, ६६ निर्वाचन क्षेत्रमा २९ लाख खर्च सीमा हुने प्रस्ताव छ । ४४ निर्वाचन क्षेत्रमा ३१ लाख र २७ निर्वाचन क्षेत्रमा ३३ लाख खर्च सीमा तोक्ने आयोगको तयारी छ ।

सोअनुसार प्रतिनिधि सभातर्फ उम्मेदवारको प्रचारप्रसारमा ४९ करोड १५ लाख रुपैयाँ खर्च हुने आयोगको अनुमान छ ।

प्रदेश सभातर्फ पनि खर्च सीमा बढाउने तयारी छ । प्रदेश सभाका ३३० मध्ये ५५ निर्वाचन क्षेत्रमा १५ लाख, १५२ निर्वाचन क्षेत्रमा १७ लाख खर्च सीमा तोक्ने आयोगको प्रस्ताव छ । ६४ निर्वाचन क्षेत्रमा १९ लाख, ३१ निर्वाचन क्षेत्रमा २१ लाख खर्च सीमा तोक्ने आयोगको तयारी छ । प्रदेशसभाका २८ निर्वाचन क्षेत्रमा २३ लाख खर्च सीमा निर्धारण गर्ने आयोगको प्रस्ताव छ । यसो गर्दा प्रदेश सभाका उम्मेदवारहरूले गर्ने कुल खर्च ५९ करोड २० लाख रुपैयाँ हुन्छ ।

आयोगको प्रस्तावानुसार प्रतिनिधि सभातर्फ ४९ करोड १५ लाख र प्रदेश सभातर्फ ५९ करोड २० लाख गरी उम्मेदवारको कुल एक अर्ब आठ करोड ३५ लाख रुपैयाँ प्रचारप्रसारमा खर्च हुने देखिन्छ । यसरी हेर्दा प्रतिनिधि सभातर्फ भन्दा प्रदेश सभातर्फ १० करोड पाँच लाख रुपैयाँ बढी खर्च हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP