मंगलबार , बैसाख २९, २०८३

बुटवल । रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँचको काम पूरा भएको छ । बुटवल १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट शुरु भएको जग्गा नापजाँचको काम ११ दिनमा पूरा भएको मोतीपूर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरण कार्यदलका संयोजक उमाकान्त चपाईले जानकारी दिनुभयो ।
ड्रोनबाट ११ दिनमा सो क्षेत्रका जग्गा नापजाँच गरेको र सोही रिपोर्टको आधारमा औद्योगिक क्षेत्रका लागि जग्गा छुट्याएपछि संघीय सरकारलाई सिफारिश गर्ने उहाँले बताउनुभयो ।

जग्गा नापजाँच शुरु गरेको ११ दिनमा करीब ३५ हजार तस्वीरहरु लिइएको र ती तस्वीरका आधारमा मोतीपूर औद्योगिक क्षेत्रको जग्गा यकिन गर्ने जग्गा नापजाँचमा खटिएका प्राविधिक सागर गिरीले जानकारी दिनुभयो । उहाँले तथ्यांक प्रशोधनका लागि करीब १ महिना लाग्ने र पुनः फिल्ड अध्ययनपछि अन्तिम रिपोर्ट तयार गर्ने बताउनुभयो ।

प्राविधिक टोलीले नापजाँचपछि तयार पार्ने तथ्यांकका आधारमा मोतीपूर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक क्षेत्र निर्माणका लागि सहज हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
उहाँले प्राविधिक टोलीले उपलब्ध गराउने तथ्यांकका आधारमा औद्योगिक क्षेत्र बनाउनयोग्य जग्गा र अन्य जग्गा छुट्याएर औद्योगिक क्षेत्रका लागि सिफारिश गर्ने र सोही क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने बताउनुभयो ।\

उहाँले संघीय सरकारले स्थानीय तहको सिफारिशका आधारमा औद्योगिक क्षेत्रका नाममा थप जग्गा ल्याउनुपर्ने या घटाउनुपर्ने भएमा निणर्य गरेर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउने बताउनुभयो ।
‘अहिले औद्योगिक क्षेत्रको जग्गा ८१३ बिगाहा भन्ने लालपूर्जा आएपनि कहाँदेखि कहाँसम्मको जग्गा भन्ने यकिन नभएकाले विवाद थियो, अब यो विवाद हट्नेछ, स्थानीयको पनि चित्त बुझ्नेछ र औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्नेछ’(उहाँले भन्नुभयो ।
उनले २०२६ सालदेखि जोतभोग गर्दै आएका र लालपुर्जा नै रहेका जग्गा जसको हो उसैलाई दिलाउने प्रक्रिया कार्यदलले बुझाउने प्रतिवेदनपछि अघि बढ्ने गरी काम हुने बताउनुभयो ।

गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा बनेको कार्यदलले ड्रोनबाट जग्गा नापजाँच गरिसकेर प्रतिवेदन तयार गर्ने र सोहीअनुसार प्राप्त विवरणका आधारमा औद्योगिक क्षेत्रको जग्गाको क्षेत्रफल घटाउन सकिने वा नसकिनेबारे प्रतिवेदन तयार गरी पेस गर्नेछ ।
प्राविधिकले अन्तिम रिपोर्ट पेस गरेपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाले कार्यदलबाट प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाबाट निणर्य गरी सिफारिस गर्ने कार्यदलका सदस्य सचिव बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।

मोतीपूर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरणका लागि १० भदौमा गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा कार्यदल बनेको थियो ।

लामो समय बसोबास गरेका र लालपुर्जा भएका स्थानीयले जग्गा खाली नगरेपछि ६ वर्षदेखि अलपत्र मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि बुटवल उपमहानगरपालिकाको पहलमा जग्गा यकिन हुन लागेको हो । पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको भएपनि स्थानीयको अवरोध र जग्गाको क्षेत्र यकिन नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP