मंगलबार , बैसाख २९, २०८३

बुटवल । डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण भने बढिरहेको छ । डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र तीन जनाले ज्यान गुमाइसकेका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट तीनजनाको मृत्यु भइसकेको छ भने सयौं संक्रमित अस्पतालमा भर्ना भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार पाल्पा, दाङ र बर्दियामा एक/एक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ ।

पाल्पाको रिब्दिकोट गाउँपालिका-१ का ख्याहाका ५८ वर्षीय पुरूषको डेंगु संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । त्यस्तै भदौ २७ गते दाङको घोराही उपमहानगरपालिका-१४ का ४० वर्षीया महिलाको पनि डेंगु संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट भदौ २२ गते मृत्यु भएको थियो ।

प्रदेश निर्देशनालयका प्रवक्ता पौडेलले लुम्बिनी प्रदेशमा अहिलेसम्म दुई हजार ६८३ जनामा डेंगुको संक्रमण भएको जानकारी दिए । भदौमा एक्कासि संक्रमण बढेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि डेंगु संक्रमितहरूको दैनिक भिड लाग्ने गरेको छ ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरुमा दैनिक ४० जनासम्म डेंगु संक्रमित आउने गरेको निर्देशनालले जनाएको छ । गत साउन मसान्तसम्म करिब ४०० जनामा डेंगुको संक्रमण पुष्टि भएकोमा भदौमा मात्र २२ सयभन्दा बढी संक्रमित थपिएको प्रवक्ता पौडेलले बताए ।

तर, लुम्बिनी प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि भने अहिलेसम्म कुनै पनि बजेट बिनियोजन गरेको छैन । निर्देशनालयका प्रवक्ता पौडेलले यसअघि नै विभिन्न महामारीजन्य रोगका लागि सरकारले एकमुष्ठ बजेट छुट्टयाएकोमा अहिलेसम्म सोही बजेटबाट काम चलाइरहेको बताए । रूपन्देहीमा पहिलोपटक २०६७/६८ मा २९० जनामा देखिएको डेंगुको संक्रमण २०७६/७७ मा महामारीकै रूपमा फैलिएर दुई हजार ९३० जनामा देखिएको थियो । तर, यसवर्ष भने डेंगु रोकथाम अभियान शुन्य भएपछि डेंगु संक्रमण महामारीको रूपमा फैलिरहेको छ ।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो । वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी र गमलामा यसले फूल पार्ने भएकाले त्यस्ता वस्तुमा पानी जम्न नदिन चिकित्सकहरूले आग्रह गरेका छन् । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने भएकाले शरीर ढाकिने कपडा लगाउन उनीहरूको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP