
काठमाडौंँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही व्यक्तिहरूले आफूलाई अस्थिरताको कारक भन्ने गरेको बताएका छन् । आज (बिहीवार) काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासङ्घको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले आफू रहेसम्म अस्थिरताको कारक हो भन्ने मानिसको कमी नरहेको र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्ने कुरा पनि केही मानिसहरूले गर्ने गरेको सुनाए । उनले भने, ‘प्रचण्ड भनेपछि सब अस्थिरताको कारक यही हो, यो रहेसम्म देशले सुख पाउने भएन भन्ने पनि मान्छे छन् । माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरूलाई चैनमा बस्न दिइँदैन, यो कुरा पक्का हो ।’
अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाए । तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको उनको आरोप थियो ।
उनले भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ ? भन्नेबारेमा विचार गर्न आवश्यक रहेको बताउनुभयो । भ्रष्टाचारीलाई कारबाही गरी भ्रष्टाचार गर्नेलाई ठाउँ नदिने शासन प्रणालीको विकास हुन जरुरी रहेको उनको भनाइ छ ।
उनले भने, ‘हामीले प्रधानमन्त्रीहरूले भन्ने गरेको सुनेका छौँ- म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भनेर साइनबोर्ड टाँग्ने अनि त्यो साइनबोर्डभित्र भ्रष्टाचार बाहेक अरू केही गर्दै नगर्ने । के कारणले यो भइरहेको छ, यो व्यक्तिको मात्रै दोष हो कि, प्रणालीमा कतै खोट छ भन्ने कुरा सबैले विचार गर्नुपर्छ । प्राणालीमा सुधार गर्न आवश्यक छ ।’
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिक दल र उद्योगीहरूमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने जिम्मेवारी रहेको बताए । उनले देश गम्भीर आर्थिक संकटमा रहेको कुरा देश हरेक कुरामा परनिर्भरतामा रहनुले पुष्टि हुने बताए । उनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने काममा आर्थिक क्षेत्र अघि बढ्नुपर्छ भन्ने गरिए पनि अहिलेसम्म उल्लेख्य प्रगति हुन नसकेको गुनासो गर े ।