मंगलबार , बैसाख २९, २०८३

बुटवल । दसैं नजिकिँदै गर्दा भारतीय बजार सुनौलीमा नेपालीको भिडभाड देखिन थालेको छ । नेपाली बजारमा भन्दा भारतीय बजारमा खाद्यन्न, लत्ताकपडा सस्तो पाइने भएकाले सीमापारी जाने गरेका छन् ।

सुनौली बजारमा भेटिएकी पाल्पाकी समिता दवाडीले दसैंका लागि कपडा किन्न आएको बताइन् । तर, अघिल्ला वर्षभन्दा यसपटक सुनौलीमा पनि महँगी बढेको उनको अनुभव छ । ’रुस-युक्रेन युद्धलाई कारण देखाएर भारतीय बजारमा पनि महँगी बढेको रहेछ,’ उनले भनिन् ।

सुनौलीका करिब ६ सय पसलेले चाडपर्वको बेला ठूलो व्यापार गर्ने गरेका छन् । यसबेला उनीहरूको मुख्य ग्रहक नेपाली नै हुने गरेका छन् । भारतको उत्तरप्रदेश, महाराजगञ्ज जिल्लामा पर्ने सुनौली बजारमा प्रायः सबै सामान पाइने भएकाले नेपाली सस्तोको लोभमा सीमापारी दैडिन्छन् । विवाह, व्रतबन्ध र चाडपर्वमा चाहिने चिजबीजदेखि दैनिक उपभोगका वस्तुसम्म किन्न यहाँ नेपालीको ओइरो लाग्छ ।

नेपालीहरू लत्ताकपडा, भाँडाकुडा, जुत्ता-चप्पल, इलेक्ट्रोनिक्स, खाद्यान्न, तेल, चिनी, बिस्कुट, नमकिन, भुजिया, काजु, किसमिसदेखि कुर्ता-सलवार, साडी, थानका कपडासम्म किन्न सुनौली जान्छन् । साबुन, सेम्पु, कापी-कलम, कस्मेटिकका सामान, तार, बल्ब, साइकल, टायर, ट्युब, पंखा, पानी तान्ने मोटर, टिभी लगायत सामान पनि सुनौलीमा बढी बिक्छन् ।

कोरोना महामारीपछि भने सुनौलीमा नेपालीको चाप केही घटेको छ । ३० वर्षदेखि किराना व्यापार गरिरहहेका इस्तफुर रहमानले सीमाका बजारप्रति दुवैतर्फको सरकारी नीतिले व्यवसाय फैलिन नपाएको बताए । सीमा बजारमा कालो बजारी मात्र हुन्छ भन्ने भ्रमका कारण व्यवसाय बढ्न नसकेको उनको भनाइ छ ।

सीमाको बजार भएकाले नेपालको सबै चाडपर्व आफूहरूलाई लाग्ने उनले बताए । कस्मेटिक्स व्यापारी सुरवीर मेहेताले महामारीपछि व्यापार सुस्ताएको बताए । ’रोगको डरले होला, आय घटेर पनि होला, महामारीअघि जस्तो नेपाली ग्राहक अहिले छैनन्,’ उनले भने ।

कपडा स्टोर उत्तमश्री कलेक्सनका सञ्चालक नन्द गोपालका अनुसार सुनौली बजारको ९० प्रतिशत ग्राहक नेपाली हुन् । वारी र पारीको मूल्यअन्तरका कारण धेरै नेपाली सुनौली आउने गरेको उनले सुनाए । नेपालीहरू रुपन्देही, पश्चिम नवलपरासी, चितवन मात्र नभई अर्घाखाँची, गोरखा, कास्की, बागलुङ, पाल्पा, स्याङ्जा, गुल्मीलगायत पहाडी जिल्लाबाट पनि सामान खरिदका लागि सुनौली आउने गरेको सुनौली कपडा सो रुमका सञ्चालक सञ्जय मोरिले बताए ।

सुनौलीकै कारण भैरहवामा मूल बजारबाहेक अन्यत्र बजार फस्टाउनै सकेको छैन । आर्थिक केन्द्रका रुपमा लम्किरहेको भैरहवालाई सीमापारीको बजार चुनौती भएको व्यवसायी बसिर मोहम्मदले बताए । भैरहवाबाट बेलहिया जाने रिक्सा, अटो र बस चल्ने भएकाले सुनौली पुग्न कुनै असुविधा छैन । सुनौलीबाट एक हजार रुपैयाँ बराबरका घरायसी समान लिएर आउँदा भन्सारमा रोकावट गरिँदैन ।

हजार रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सारमा सामान्य प्रज्ञापनपत्र भर्नुपर्ने नियम छ, जसमा कडाइ गरिएको छैन । यसले गर्दा पनि धेरै नेपाली खरिदारीका लागि सुनौली, नौतनवा, रक्सौल पुग्छन् । उनीहरूले दैनिक कति मूल्यका सामान ल्याउँछन् भन्ने पनि यकिन तथ्यांक कसैसँग छैन ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमकार गौचनले घरायसी सामान किनमेलका नाममा सीमापारि जाने नेपाली उपभोक्ताको प्रवृत्ति निरुत्साहित गर्न नसक्दा सीमापारिको व्यवसाय फस्टाउने र नेपाली बजार खुम्चिँदै जान थालेको बताए ।

दैनिक कति संख्याका नेपाली सामान किन्न सुनौली बजार पुग्छन् भन्नेबारे एकिन तथ्यांक नभए पनि चाडपर्वका बेला कम्तीमा दैनिक पाँच हजार ग्राहक पुग्ने र दैनिक पाँच करोड रुपैयाँ खर्चने गरेको नेपाली व्यापारिक संघसंस्थाको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP