मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका हुन् ।

ली सोमबार मात्र काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै संसद भवन, परिसरमा सभामुख सापकोटासँग भेटवार्ता भएको थियो । त्यसक्रममा ६ बुँदे समझदारी भएको छ । उक्त समझदारीपत्रमा नेपालका तर्फबाट संघीय संसदको नेतृत्व गरेका सभामुख अग्निप्रसाद सापकोटा र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चाङ्सुले हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार दुवै पक्षले एकअर्काको विधायकी, सुपरिवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासबारे जानकारी आदानप्रदान गर्ने भएका छन् । दुई संसदबीचको समझदारी पत्रमा चीनले अघि बढाएको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएभिडबारे पनि उल्लेख गरिएको छ ।

‘दुई सरकारबीच सहमति भएबमोजिम बेल्ट एण्ड रोड इनिसियटिभमार्फत समेत दुई राष्ट्रहरूबीच अन्तरआवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिनेछन्’, समझदारी पत्रको पाँचौँ बुँदामा भनिएको छ ।
त्यसैगरी समझदारी पत्रमा दुवै पक्ष साझा हितको विषयमा इन्टर पार्लियामेण्टरी युनियन लगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरुको खाका अन्तर्गत सहयोग सुदृढ गर्न सहमत भएको पनि उल्लेख छ ।

यस्ता छन् समझदारी

१. दुवै पक्ष आपसी विश्वास सदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूणर् सरोकारका विषयमा साथ दिन सहमत भएका छन् ।

२. दुबै पक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुर्‍याउन बहुआयमिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्नेछन् ।

३. दुबै पक्षले नेपाल र जनवादी गणतन्त्र चीनका दई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिनेछन् । .

४. दुवै पक्षले संसदीय मैत्री समूहहरुलाई उनीहरुको संलग्नता अभिवृद्धि गर्न प्रोत्साहन गर्नेछन् र साथ दिनेछन् तथा दुई व्यवस्थापिका बीच सदभाव र समझदारी प्रवर्द्धन गर्न सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहन गर्नेछन् ।

५. दुबै पक्षले एकअर्काको विधायिकी, सुपरिवेक्षकीय र शासन सञ्चालन सम्बन्धी अभ्यासका वारेमा जानकारी आदानप्रदान गर्ने र दुई सरकार बीच सहमति भएबमोजिम बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत समेत दुई राष्ट्रहरु बीच अन्तरआवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिनेछन् ।

६. दुबै पक्ष साझा हितको विषयमा इन्टर पार्लियामेण्टरी यूनियन लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरुको खाका अन्तर्गत सहयोग सुदृढ गर्न सहमत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP