शनिबार , जेठ २५, २०८२

काठमाडौँ — बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार दिउँसो उनको निधन भएको हो ।

सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४ औं पछि दोस्रो स्थानमा पर्छिन् । बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् ।

महारानी एलिजाबेथले आफ्नो जीवनमा थुप्रै उतारचढावको सामना गरेकी थिइन् । उनले थुप्रै रेकर्ड पनि कायम गरेकी थिइन् । एलिजाबेथको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री र अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका छन् ।

एलिजाबेथलाई ‘स्थायित्व र निरन्तरता’ को प्रतिनिधित्व गर्ने शालीन राष्ट्राध्यक्षका रुपमा लिइन्छ । पारिवारिक जीवनमा उनी कैयौं अप्रिय घटनाको साक्षी बनिन् तर विचलित भइनन् । एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा थिइन् । उनी बेलायतको महारानी बन्ने सम्भावना निकै कम थियो । तर सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि १० वर्षकी उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो ।

उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिलेपछि जेठी छोरी एलिजाबेथ उत्तराधिकारी बनेकी थिइन् । पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा उनले राजगद्दी आरोहण गरेकी थिइन् । दोस्रो विश्वयुद्धपछि बेलायत आर्थिक तथा राजनीतिक रूपमा तंग्रिने प्रयास गरिरहेका बेला एलिजाबेथले गद्दी आरोहण गरेकी थिइन् । करिब १२० देशको भ्रमण गरेकी एलिजाबेथले संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्षको कीर्तिमान राखेकी थिइन् । १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी उनी हजारौं समारोहमा सहभागी भएकी थिइन् । उनी संसारमै सबैभन्दा धेरै फोटो खिचाउने व्यक्तिमध्येमा पर्छिन् ।

महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारी यसअघि नै जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गरेकी छन् । उनले युवराज चार्ल्स राजा बनेपछि पत्नी क्यामिला रानी बन्ने यसअघि नै प्रस्ट पारेकी थिइन् ।

सन् १९९६ मा चार्ल्स र डायनाबीच विवाहको १५ वर्षमै सम्बन्धविच्छेद भएपछि शाही परिवारप्रति आलोचना बढ्यो । त्यसको अर्को वर्ष फ्रान्सको राजधानी पेरिसमा भएको कार दुर्घटनामा डायनाको निधन भएपछि मानिसहरू राजसंस्थाप्रति नकारात्मक बन्दै गए । डायनासँग चार्ल्सको बिग्रेको वैवाहिक सम्बन्ध सुधार्न र डायनाको दुर्घटनापछि गुम्दै गएको राजसंस्थाप्रति जनताको सम्मान कायम राख्नका लागि एलिजाबेथले थुप्रै चुनौती सामना गरिन् ।

राजकुमारहरु विलियम र ह्यारीकी आमा डायनाको सन् १९९७ अगस्टमा फ्रान्सको राजधानी पेरिसमा भएको कार दुर्घटनामा मृत्यु भएको थियो । पछि सन् २००५ मा चार्ल्सले क्यामिला पार्कर बाउल्ससँग विवाह गरेका हुन् ।

तीन वर्षअघि राजकुमार ह्यारी र मेगनले दरबार छाड्ने निधो गर्दा महारानीले दुःख व्यक्त गरेकी थिइन् । पछि सन् २०२१ को जुनमा पति गुमाएपछि भने उनलाई ‘एक्लोपन’ ले अत्याएको थियो । त्यसको ६ महिनापछि यौन दुर्व्यवहारको आरोपमा छोरा एन्ड्रयुको शाही पदवी खोसिएको थियो ।

महारानी एलिजाबेथले गद्दी आरोहण गरेको ७० वर्षको अवसरमा गत जुनमा भव्य समारोह आयोजना गरिएको थियो । चार दिन सार्वजनिक बिदा दिएर गरिएको ‘प्लेटिनम जुब्ली’ समारोहमा दसौं लाख बेलायतीले भाग लिएका थिए । त्यस अवसरमा महारानीले राजकुमार चार्ल्स, ड्युक अफ केन्टलगायत शाही परिवारका सदस्यमाझ राजदरबारको बाल्कोनीबाट सैनिक र हजारौं सर्वसाधारणलाई हात हल्लाएर हौसला प्रदान गरेकी थिइन् ।

उनले नेपालप्रति पनि सद्भाव राख्ने गर्थिन् । खासगरी गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँग एलिजाबेथको विशेष सम्बन्ध थियो ।

@ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP