मंगलबार , बैसाख २९, २०८३

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि आजदेखि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार २२३ जना सहभागी हुँदैछन् ।

गण्डकी प्रदेशमा आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो । छनोट प्रतियोगिता पोखरा रङ्गशालामा हुन लागेको हो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा ११ जिल्लाका महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र व्यवस्थापक सहभागी हुँदैछन् । प्रादेशिक छनोटपछि प्रदेशको टोलीलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ ।

सदस्य सचिव गुरुङका अनुसार जिल्ला छनोटमा पाँच हजार ६७७ खेलाडी सहभागी भएका थिए । प्रत्येक खेलमा एउटा प्रशिक्षक र एउटा व्यवस्थापक राखिएको छ । प्रादेशिक छनोटमा कास्कीले ३५ वटै खेलमा सहभागिता जनाउने भएको छ भने मनाङले पाँच खेलमा मात्र प्रतिस्पर्धा गर्नेभएको छ । यही भदौ ८ देखि १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय छनोटबाट प्रादेशिक प्रतियोगिताका लागि खेलाडी छानिएका हुन् ।

प्रदेशस्तरीय प्रतियोगितका लागि खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कास्कीबाट छ सय ७३, मुस्ताङबाट एक सय ६६, म्याग्दीबाट दुई सय ८३, बागलुङबाट तीन सय ६१, पर्वतबाट दुई सय २३, स्याङ्जाबाट तीन सय ४७ र तनहुँबाट तीन सय तीन खेलाडी छनोट भएका छन् ।

यसैगरी लमजुङबाट दुई सय १३, गोरखाबाट दुई सय ३०, मनाङबाट ४६ र नवलपुरबाट तीन सय ७८ खेलाडी छनोट भएका छन् । गण्डकीले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ वटै खेलमा सहभागिता जनाउने भएको छ ।

नवौँ राष्ट्रियमा गण्डकीबाट सात सय नौ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा चार सय चार स्पर्धामा चार सय ११ पुरुष र दुई सय ९८ महिला सहभागी हुन लागेको परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए । ‘जिल्ला, प्रदेश छनोट र बन्द प्रशिक्षणसम्म कूल रु सात करोड ८५ लाख खर्च हुने अनुमान छ’, उनले भने ।

राष्ट्रिय खेलकुद परिषद्ले यही भदौको २५ गतेभित्रमा सवै प्रदेशलाई खेलाडी, प्रशिक्षक र व्यवस्थापकको नाम दर्ता गर्न समयसीमा तोकेको छ । नवौँ राष्ट्रिय खेलकुदमा तीन विभागीय, सात प्रदेश र एनआरएनएका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा तीन सय ९३ स्वणर्, तीन सय ९३ रजत र ६०० कास्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

तयारीका लागि बजेट अपुग भयो : प्रदेश खेलकुदमन्त्री

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले राष्ट्रिय खेलकुदको तयारीका लागि बजेट अपुग भएको बताएका छन् । उनले सङ्घीय सरकारले प्रतियोगिताका लागि रु ६० करोड स्वीकृत भएको जानकारी दिए पनि हालसम्म रकम प्राप्त नभएको उल्लेख गरे ।

‘रकम अभावले खेलाडीको बन्द प्रशिक्षण सञ्चालनमा कठिनाइ हुने भएको छ’, उनले भने । राष्ट्रिय खेलकुदका कतिपय पूर्वाधार बजेट अभावका कारण निर्माण हुन नसकेको मन्त्री गुरुङले गुनासो गरे ।

पुलिसलाई राष्ट्रिय महिला भलिबले उपाधि

यसैबीच नेपाल पुलिस क्लबको महिला टोलीले पोखरामा सञ्चालन भएको राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा-१६ लामाचौरमा सम्पन्न २४आँैं संस्करणको ‘लामाचौर तीज महोत्सव-२०७९ एवं लामाचौर कप राष्ट्रिय भलिबल’ प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा पुलिसले न्यू डायमण्ड एकेडेमीलाई ३-० सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधिसहित रु एक लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता न्यू डायमण्डले रु एक लाख १११ पुरस्कार पाएको छ । फाइनलमा पुलिसले न्यू डायमण्डलाई २५-१५, २५-१४ र २५-८ अङ्कले हराएको हो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तृतीय भयो । उसले गण्डकी प्रदेशलाई २५-१७, २५-१७ र २५-१५ अङ्कले पराजित गर्दै रु ५० हजार १११ पुरस्कार हात पार्‍यो । प्रतियोगितामा पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी र पुलिसकै रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । दुवै जनाले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

यसैगरी उत्कृष्ट सेटर न्यू डायमण्डकी प्रगति नाथ, उत्कृष्ट ब्लकर आर्मीकी सोफिया पुन, उत्कृष्ट सर्भर डायमण्डकी सलिना बुढामगर, उत्कृष्ट स्पाइकर पुलिसकी कामना विष्ट र उत्कृष्ट लिब्रो डायमण्डकी सलिना श्रेष्ठ घोषित भइन् । विजयी टोली तथा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी रामदत्त जोशी, नेपाल भलिबल सङ्घका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ, आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच फाइनल खेल हुन बाँकी रहेको प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP