
काठमाडौं । विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । ओली निवास बालकोटमा साँझ ६ बजे भएको छलफल अढाई घण्टा चलेको नेता मिश्रले जानकारी दिएका छन् ।
भेटमा आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता लगायत विषयमा कुराकानी भएको मिश्रको भनाइ छ । त्यस्तै, आगामी आम निर्वाचनमा काठमाडौं-१ मा सहकार्यबारे छलफल भएको थियो ।
भेटपछि मिश्रले आगामी निर्वाचनको विषयमा छलफल भएको बताए । ‘आगामी निर्वाचनको विषयमा पनि कुराकानी भयो,’ नेपालखबरसँग मिश्रले भने, सहयोगको अपेक्षा त स्वभाविक नै हो नि ।’ भेटमा आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रुपैयाँको एक मुठ्ठी सिक्का ओलीले उपहार दिएको पनि मिश्रले सुनाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,
‘तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ ?’ मैले सोधें । उहाँले भन्नुभयो, ‘म अहिले पनि राती सुत्नुअघि कम्तीमा एक घण्टा पढ्छु ।’ उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२/०१ नबजी सुत्नु हुन्न, उहाँको ऊर्जा र लगन अनौठो छ ।
ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो। आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो ।