
काठमाडौं । भारतीय वायु सेनाका उपप्रमुख तेजवीर सिंह नेपाल आएका छन् । भारतको नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सञ्चालित नेसनल डिफेन्स कोर्स-६२ मा सहभागी शिक्षार्थीहरूसहित ३१ सदस्यीय भ्रमणदल आज काठमाडौं आइपुगेको छ ।
भदौ १२ देखि १६ गतेसम्म नेपाल भ्रमण गर्ने योजना अनुरूप एयर भाइस मार्सल तेजवीर सिंह नेतृत्वको टोली काठमाडौं आएको नेपाली सेनाले जनाएको छ । पाँच दिवसीय भ्रमणको क्रममा उक्त भ्रमण दलले भोलि प्रधानमन्त्री तथा रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने तालिका छ । भ्रमण दलले भोलि नै जङ्गी अड्डाको भ्रमण गर्नेछ ।
यस्तै, भदौ १४ गते पोखरास्थित मध्य कमाण्ड हेड क्वाटरको भ्रमण गर्ने कार्यक्रम छ । साथै, उक्त भ्रमणदलद्वारा पशुपतिनाथ मन्दिर, काठमाण्डौं दरबार स्क्वायर, लुम्बिनीलगायत काठमाडौं र पोखरामा अवस्थित विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम छ ।