
काठमाडौं । भारतले ‘अग्निपथ’ योजना अन्तर्गत गोर्खा सैनिकको भारतीय सेनामा भर्ती निरन्तर रहने स्पष्ट पारेको छ । अग्निपथ योजनामा भर्ती नगर्न नेपालले आग्रह गरेको भोलिपल्ट भारतले यस्तो स्पष्ट पारेको हो ।
‘गोर्खा सैनिकहरु भारतीय सेनामा लामो समयअघिदेखि भर्ती हुँदै आएका छन् । अबका दिनमा अग्निपथ योजना अन्र्तगत पनि त्यो क्रम जारी रहनेछ’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने ।
नेपाल सरकारले अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भर्ती नगर्न अनुरोध गरिसकेको छ । परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय राजदूत नवीन श्रीवास्तवलाई बुधबार मन्त्रालयमा डाकेर अग्निपथ योजनाबारे जानकारी मागेका थिए ।
उनले उक्त योजनामा नेपाली युवालाई जान दिने वा नदिनेबारे राष्ट्रिय सहमति कायम नभएकाले तत्कालका लागि भर्ती प्रक्रिया अघि बढाउन अनुरोध गरेका थिए । नेपालको अनुरोध अनुसार बिहीबारदेखि बुटवलमा थाल्ने भनिएको गोर्खा सैनिकको भर्ती प्रक्रिया भारतीय पक्षले तत्कालका लागि स्थगित गरेको छ ।
अग्निपथ योजनाबारे प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी अधिकारीहरूसँग छलफल गरिसकेका छन् ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार अरुण कुमार सुवेदीले भारतले सन् १९४७ को बेलायत-भारत-नेपाल त्रिपक्षीय सन्धिअनुसार नै भारतले अबका दिनमा नेपालका युवालाई भर्ती गर्ने अपेक्षा लिइएको बताए ।
गत जुनमा मोदी सरकारले ल्याएको ‘अग्निपथ योजना’ ले भारतीय सेनामा जाने नेपालीलाई असर पर्नेछ । हाल भारतीय सेनाको गोर्खा रेजिमेन्ट मातहत बिभिन्न बटालियनमा गरी करिब ३२ हजार नेपाली युवा छन् । भारत सरकारले घोषणा गरेको उक्त योजना कार्यान्वयन भने भइसकेको छैन । उक्त योजनाअन्तर्गत भारतीय सेनाले अब भर्तीमा सैनिक लिँदा ४ वर्षका लागि मात्र लिनेछ ।
योजनाअनुसार २५ प्रतिशत सैनिकलाई मात्र स्थायी गरिनेछ । योग्यता नपुगेकालाई भारतीय रुपैयाँ १० लाख ४० हजार दिएर अवकाश दिइनेछ । अवकाश पाउनेले पेन्सन पाउने छैनन् । भारतले खर्च कटौतीअन्तर्गत उक्त योजना अघि सारेको हो । उक्त योजना भारतको आन्तरिक विषय भए पनि त्यसले नेपालीलाई पनि असर पर्नेछ ।