मंगलबार , बैसाख २९, २०८३

माघ ३० , काठमाडौँ | केपी ओली नेतृत्वको नेकपाले शनिबार लुम्बिनी प्रदेशको बुटवलमा आमसभा गर्दैछ। सिद्धेश्वर मैदानमा हुने सो आमसभामा दुई लाखभन्दा बढी उपस्थित गराउने सो पार्टीको दाबी छ।

रुपन्देहीबाट १ लाख र प्रदेशका अन्य जिल्लाबाट १ लाख मानिस ल्याइने सो पार्टीका नेताहरुले बताएका छन्।

त्यसका लागि महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझी लगायतका नेताहरु खटिएका छन्।

जनयुद्ध दिवसकै दिन शनिबार बिहान ११ बजे सभा सुरु हुने मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

सभाअघि गोलपार्क, चौराह, जोगीकुटी, तिनाउ पुल लगायतका स्थानबाट विभिन्न जुलुस निस्किनेछ।

प्रतिनिधि सभा विघटन गरेर चुनावको मिति घोषणा गरेपछि ओली पक्षले दोस्रो पटक बुटवलमा सभा गर्न लागेको हो।

लुम्बिनी प्रदेश ओली पक्षको देशभरमै सबैभन्दा बलियो पकड रहेको क्षेत्र मानिन्छ। ओली पक्षका ठूला नेताहरु थुप्रै यही प्रदेशका छन्। अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, मुख्यमन्त्री शंकर पोखरेल, स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र मणि थापा, वैजनाथ चौधरी, खिमलाल भट्टराई जस्ता नेताहरु यही प्रदेशका हुन्।

नेकपाभित्र देखिएको विवादपछि पनि ओली पक्ष सो प्रदेशमा शक्तिमा छ। त्यसैले ओलीले बुटवलमा सभा गरेर चुनावी माहौल तयार गर्न खोजेका छन्।

प्रतिनिधि सभा विघटन गरेर चुनावमा जाने ओली कदमको अन्य पार्टीले चर्को विरोध गरिरहेका छन्।

‘त्यसलाई चिर्दै चुनावी माहौल बनाउनेगरी कार्यकर्ता र जनतालाई स्पष्ट पार्न सभा आयोजना गरिएको हो,’ प्रदेशका एक नेताले भने।

कार्यक्रमलाई भव्य बनाउन मञ्च सजावटदेखि व्यवस्थापनमा समेत निकै ध्यान दिइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार केसीले बताए।

पाँच वटा डिजिटल स्क्रिनबाट आमसभालाई प्रसारण गर्ने व्यवस्था मिलाइएको र सहभागी भएका र वरपर बसेकाहरुले समेत सुन्नेगरी साउन्ड सिस्टमको व्यवस्था गरिँदैछ।

ओली पक्षले माघ २३ गते काठमाडौंमा सभा गरेको थियो। त्यसबेला पछाडि बसेका सहभागीले आवाज नसुनेको भन्दै गुनासो गरेका थिए।

त्यस्ता गुनासा आउन नदिन प्राविधिक पक्षलाई ध्यान दिइएको केसीको भनाइ छ।

आमसभास्थललाई मिडियामैत्री बनाइएको, तीव्र गतिको इन्टरनेटको व्यवस्था मिलाइएको र प्रधानमन्त्री लगायत सबैको सहजै तस्बिर लिन सकिनेगरी मिलाइएको केसीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP