मंगलबार , बैसाख २९, २०८३

नेपाली काँग्रेसको संस्थापन पक्षले नेता शेखर कोइराला समूहको पाँच बुँदे निष्कर्षप्रति असन्तुष्टि जनाएको छ । बिहीबार र शुक्रबार काठमाडौँको बत्तीसपुतलीमा बसेको कोइराला समूहको बैठकले प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा सरकार र पार्टी सञ्चालनमा असफल भएको सहित ५ बुँदे निष्कर्ष निकालेको थियो ।

देउवाले विधानको पालना नगरेको, पार्टीभन्दा गठबन्धनलाई बढी महत्त्व दिएको, जनजीविकाका मुद्दा र अर्थतन्त्र सुधार गर्न उदासीन देखिएको कोइराला समूहको बैठकको ठहर थियो ।

साथै देउवा नेतृत्वको सरकारले आर्थिक सुशासनको खिल्ली उडाउँदै व्यापकरुपमा नीतिगत भ्रष्टाचार गरेको पनि शेखर समूहको निष्कर्षमा समेटिएको छ ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले शेखर समूहले निकालेको निष्कर्ष पार्टीका लागि दुर्भाग्यपूर्ण भएको रातोपाटीलाई प्रतिक्रिया दिए । ‘पार्टीको नेतृत्वमा गठबन्धनको सरकार छ । निर्वाचनमा हामीले सफलता प्राप्त गर्‍यौँ। अब चाँडै आम निर्वाचन हुँदैछ,’ उनी उनले भने, ‘अहिले एकताबद्ध भएर जानुपर्ने बेलामा विरोधी पार्टी जसरी साथीहरू प्रस्तुत हुनुभएको छ । यो दुर्भाग्यपूर्ण हो । यो सही छैन ।’

यसले पार्टी र शेखर समूहको पनि हित नगर्ने प्रवक्ता महतको तर्क छ । उनले भने, ‘यसले पार्टीको पनि हित गर्दैन, उहाँहरूको पनि हित गर्दैन । यसले कसैको पनि हित गर्दैन ।’

पार्टीमा प्रचण्ड बहुमत हुँदा पनि सभापति सबैको सरसल्लाह लिएर अगाडि अगाडि बढेको महतको दाबी छ ।

‘पार्टीमा प्रचण्ड बहुमत हुँदा पनि सभापति सबैको सरसल्लाह लिएर अगाडि बढिराख्नु भएको छ । त्यसको उदाहरण भर्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचनको टिकट वितरणलाई हेरे पुग्छ,’ उनले भने, ‘महानगरमा नेताहरूले प्रस्ताव गरेअनुसार नै टिकट दिनुभएको छ ।’

गठबन्धनको सरकारमा काँग्रेसले नै भनेको जस्तो हुन नसकेपनि पाँच दलीय गठबन्धनको सीमामा बसेर सरकारबाट राम्रो काम भएको उनको भनाइ छ । परराष्ट्र सम्बन्धमा पनि सरकार सफल भएको प्रवक्ताको दाबी छ ।

‘उहाँकै नेतृत्वमा एमसीसी पारित भयो । देशका लागि राम्रै भएको छ । यो एसपीपीको पनि च्याप्टर क्लोज यही सरकारले गरेको छ । यसलाई अगाडि बढाउँदैन भनेर सरकारले निर्णय गरिसकेको छ ,’ उनले भने, ‘परराष्ट्र मामिलामा सरकार असफल भएको भन्ने आधार के हो ? खास कुरो बुझिएन ।’

यी कुराहरुमाथि गम्भीर समीक्षा गर्छौँ । उहाँहरूले निकालेको निष्कर्षमाथि केन्द्रीय समितिमा साथीहरूले कुरा राख्नुहुन्छ । पार्टी सभापतिले यस विषयमा पनि आफ्नो कुरा राख्नु होला ।’

आफूलाई लागेका विषय केन्द्रीय समिति बैठकमा नराखेर होटलहरुमा रमिता देखाउने कुरा ठीक नहुने उनले बताए । उनका अनुसार कोइराला समूहको बैठक नबस्दै असार १६ गते काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको थियो ।

‘असार २७ गते केन्द्रीय समिति बैठक बस्दै छ । त्यहाँ राख्दा हुने थियो,’ महतले भने, ‘त्यसअघि प्रधानमन्त्री र पार्टी सभापतिसँग भेटेर राख्दा हुन्छ केही गुनासो छ भने । जसरी निष्कर्ष भनेर बाहिर आएको छ । त्यो दुर्भाग्यपूर्ण छ ।’

देउवाको विरुद्धमा तलसम्म विरोधका कार्यक्रम लैजाने कुरा आत्मघाती भएको प्रवक्ता महतको जिकिर छ । ‘उहाँहरूले आत्मघाती कुरा गरिराख्नु भएको छ । पार्टी सभापतिको नेतृत्वमा यति ठूलो सफलता हासिल गरिएको छ,’ उनले भने, ‘यसमा हामी खुसी हुनुपर्ने हो । सभापति र पार्टी सफल भएको देख्न नचाहनेहरू आत्मघाती खेलमा लाग्नु भएको छ । ४ वटा भ्रातृ संगठनको संयोजक तोकिएको छ । पूर्णता दिने कुरामा त्यो क्षेत्रमा काम गरेका सबै योग्य साथीहरूलाई राख्ने नै कुरा छ । अहिले जे कुरा आएका छन् । यी आत्मघाती कुरा आइरहेका छन् । यसको हिसाब गरिरहेका छौँ ।’

कोइराला समूहको निष्कर्षसँग पार्टीपंक्ति सहमत नभएको उनको भनाइ छ ।

‘उहाँहरूको निष्कर्षमा पार्टीका साथीहरू सहमत हुनहुन्न । यो उनीहरूको सहभागिताले देखाउँछ ,’ महतले भने । यस विषयमा २७ गते बस्ने केन्द्रीय समिति बैठकमा गम्भीर ढंगले कुरा उठ्ने उनले बताए ।

उनले भने, ‘यी कुराहरुमाथि गम्भीर समीक्षा गर्छौँ । उहाँहरूले निकालेको निष्कर्षमाथि केन्द्रीय समितिमा साथीहरूले कुरा राख्नुहुन्छ । पार्टी सभापतिले यस विषयमा पनि आफ्नो कुरा राख्नु होला ।’

यद्यपि पार्टी सभापतिको स्वभाव विवाद गर्नेभन्दा समाधान निकाल्ने खालको भएको उनले बताए ।

यो पनि
प्रधानमन्त्री देउवामाथि शेखर समूहले लगायो गम्भीर पाँच आरोप
अस्तित्व रक्षाका लागि देउवा असफल भएको निष्कर्ष निकालियो: मन्सुर

यस्तै सहमहामन्त्री फर्मल्ला मन्सुरले शेखर समूहले अस्तित्व रक्षाका लागि देउवा असफल भएको भनेर निकालेको गुटगतको निष्कर्षको कुनै अर्थ नहरेका बताए । ‘महाधिवेशनमा पराजय भोगेका साथीहरूले आफ्नो अस्तित्व रक्षाका लागि केही न केही त भन्नुपर्‍यो । यसको केही अर्थ छैन’, उनले भने, ‘देउवा सरकार र पार्टी सञ्चालनमा सफल भएको निर्वाचनबाटै प्रमाणित भएको छ ।’

पार्टी र जनताबाट देउवाको नीति र नेतृत्व अनुमोदित भएको उनको जिकिर छ । ‘१४ औँ महाधिवेशनमा उहाँको नीति र नेतृत्वलाई नेपाली काँग्रेसको बहुमत कार्यकर्ताले स्वीकारेपछि न उहाँ विजयी हुनुभयो,’ उनले भने, ‘त्यस्तै स्थानीय निर्वाचनमा काँग्रेस जनताको बीचमा जाँदा सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित हुनुलाई सफलता नमानेर असफलता भन्ने हो ?’

देउवाले सरकार र पार्टी सञ्चालनमा सफल भएको मन्सुरको दाबी छ । ‘जसले पनि इमान्दार ढंगले विश्लेषण गर्दा यही हुने हो । अब कुण्ठा लिएर, हारको पीडा लिएर वा शेरबहादुर देउवाजीविरुद्ध बोल्दा सहानुभूति मिल्छ भन्ने सोचेर बोल्दा अर्को कुरा हो । होइन भने यथार्थ विश्लेषण भनेको यही हो,’ उनले भने ।

अन्य पार्टीलाई हेर्दा कोइरालाको गतिविधि कारबाहीयोग्य भएपनि काँग्रेसमा त्यस्तो नहुने उनको भनाइ छ । ‘केपी ओलीजीको पार्टीमा घनश्याम भुसाललाई कारबाहीको कुरा आएको मैले सुनेको थिएँ,’ उनले भने, ‘काँग्रेसमा कसैले यथार्थभन्दा अलग कुरा गरेको मात्र कारबाही हुँदैन । यसको विश्लेषण आम मान्छेले गर्ने हो । मान्छेको बौद्धिक क्षमता र राजनीतिक इमान्दारिता मूल्यांकन पार्टीका कार्यकर्ताले गर्छन् ।’

‘उहाँहरू के लिएर जानुहुन्छ । देउवाको नेतृत्वमा देशको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेस बनेको छ । शेरबहादुर देउवा यो गल्ती गर्दै हुनुहुन्छ । त्यस कारण उहाँको विरुद्धमा हामीले मिटिङ गरौँ, भाषण गरौँ, जुलुस निकाल्यौँ भन्न जानुहुन्छ ? एजेण्डा के छ ?, ’ मन्सुरको प्रश्न छ । पार्टीलाई अहित हुने गरी बोल्ने छुट कसैलाई नभएको भन्दै जथाभाबी बोल्दा राम्रो नहुने उनले बताए ।

काँग्रेसको दृष्टिकोण भन्दा बाहिर गएर सरकारले परराष्ट्र नीति अख्तियार नगरेको मसन्सुरले बताए । सरकारले सबै देशसँगको मित्रता ऐतिहासिक उचाइमा पुर्‍याएको उनको भनाइ छ ।

‘देउवाजीले सरकारको नेतृत्व गरेपछि भारत, अमेरिका चीन, युरोप, रुस कुन देशसँग बोलचाल बन्द भएको छ ?,’ उनको प्रश्न छ, ‘कुन देशसँग न तिक्तता आएको छ ? अविश्वास बढेको छ ? बरु सम्बन्ध प्रगाढ भएको छ ।’

स्थानीय निर्वाचनका कारण केही दिन ढिलो भएको स्विकार्दै उनले अब केही दिनमा विभाग गठन लगायतमा काम गरिने बताए ।

देउवाविरुद्ध तल्लो तहसम्म कार्यकर्ता परिचालन गर्छु भन्नु हास्यास्पद भएको उनको भनाइ छ ।

‘उहाँहरू के लिएर जानुहुन्छ । देउवाको नेतृत्वमा देशको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेस बनेको छ । शेरबहादुर देउवा यो गल्ती गर्दै हुनुहुन्छ । त्यस कारण उहाँको विरुद्धमा हामीले मिटिङ गरौँ, भाषण गरौँ, जुलुस निकाल्यौँ भन्न जानुहुन्छ ? एजेण्डा के छ ?, ’ मन्सुरको प्रश्न छ । पार्टीलाई अहित हुने गरी बोल्ने छुट कसैलाई नभएको भन्दै जथाभाबी बोल्दा राम्रो नहुने उनले बताए ।

कोइराला समूहले देउवामाथि लगाएको आरोप छाता ओढ्दा परेको हिलोको छिटा मात्र भएको पनि उनले बताए । उनले भने, ‘हिलो र वर्षालाई दण्डित गर्ने कुरा भएन । त्यस्तै हो । यसको केही महत्त्व छैन ।’

यस्तै केन्द्रीय सदस्य शंकर भण्डारीले पनि शेखर समूहको पाँच बुँदे निष्कर्षप्रति आपत्ति जनाए । कोइराला समूहले पार्टीको मर्यादा र हित बाहिर गएर गतिविधि गर्न थालेको उनको भनाइ छ । यो पार्टीका लागि राम्रो र सुखद विषय नभएको पनि भण्डारीले बताए ।

उनका अनुसार देउवा प्रवृत्तिविरुद्ध शेखर समूहले सातै प्रदेशमा भेला गर्ने छ । यस्तै भ्रातृ संस्थाको भेला भेला गर्ने छन् भने विभिन्न बहस र छलफलका माध्यमबाट रचनात्मक विरोधका कार्यक्रमहरू गरिने उनको भनाइ छ ।

शेखर समूह भन्छ – स्पष्टीकरण दिन तयार छौँ

सहमहामन्त्री जीवन परियारले आफूहरूले उठाएका विषय पदाधिकारी बैठक र कार्यकर्तामा लैजाने बताए । उनका अनुसार कोइराला समूहले असार २१ गते १ बजे बस्ने पदाधिकारी बैठकमा आफ्नो निष्कर्ष सुनाउने छ ।

उनले रातोपाटीलाई भने, ‘अस्ति हामीले जे मुद्दा उठाएका छौँ । यी नै कुराहरू हामी जस्ताको त्यस्तै पदाधिकारी बैठकमा उठाउँछौँ ।’ पदाधिकारी बैठकमा आफूले राखेका कुराको रेस्पोन्स अनुसार केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने परियारले बताए । उनले भने, ‘हामीले मिडियामा सुनाउनका लागि भनेका होइनौँ । पार्टीमा गम्भीरतापूर्वक छलफल गरी यसको समाधान निकाल्ने गरी सभापतिलाई हामीले ध्यानाकर्षण गराएका हौँ ।’

आफूले उठाएका विषयका सन्दर्भमा सभापति देउवालाई स्पष्टीकरण दिन तयार रहेको परियारले बताए । यस्तै कोइराला पक्षका नेता डा.चन्द्र भण्डारीले पनि आफूहरूले उठाएका कुरा केन्द्रीय समितिमा पनि राखिने बताए ।

सातै प्रदेशमा भेलाहरू गरेर मुलुकलाई अगाडि बढाउने एजेण्डाहरु जनतामाझ लैजानु आजको आवश्यकता भएको उनको भनाइ छ ।

उनका अनुसार देउवा प्रवृत्तिविरुद्ध शेखर समूहले सातै प्रदेशमा भेला गर्ने छ । यस्तै भ्रातृ संस्थाको भेला भेला गर्ने छन् भने विभिन्न बहस र छलफलका माध्यमबाट रचनात्मक विरोधका कार्यक्रमहरू गरिने उनको भनाइ छ ।

यस्तै उनले सुविधा, भ्रष्टाचार, योजना र अन्तर्राष्ट्रिय सम्बन्धबारे कुरा गर्नु आत्मघाती कसरी हुन्छ भन्दै प्रश्न गरे ।

‘जनताले पाउने सुविधा, भ्रष्टाचार, योजना र अन्तर्राष्ट्रिय सम्बन्धबारे कुरा गर्नु आत्मघाती हुन्छ भने मुलुक बनाउने राम्रो कुरा के हो ? दिन सक्नुपर्‍यो नि ? अरूले गर्ने कुरा आत्मघाती हुने तर जनताले दुःख पाउने कुरा राष्ट्रवादी हुन्छ ? को प्रधानमन्त्री र मन्त्री भएर जनताले के पाए ? ३० औँ वर्ष एउटै व्यक्तिको मुख हेरेर मुलुक चल्छ ?,’ उनको प्रश्न छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP