
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा गठबन्धन गरेर जानेबारे नेपाली कांग्रेसको औपचारिक धारणा कुरेर बसिरहेको बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवाले चुनावी तालमेलको कुरा गरेको भन्दै उनले धन्यवाद दिए ।
अखिल नेपाल महिला संघ (समाजवादी) जिल्ला कार्यसमिति काठमाडौंले आयोजना गरेको बृहत् महिला भेला तथा प्रशिक्षण कार्यक्रममा नेता नेपालले कांग्रेसभित्रको एउटा तप्काले पनि चुनावी तालमेलको कुरा गरिरहेको बताएका हुन् ।
‘शेरबहादुरजी धोकाको राजनीति गर्ने मान्छे होइन, शेरबहादुजीले पटक–पटक चुनावी तालमेलको कुरा गर्नु भएको छ । पार्टीले के निर्णय गर्छ हामी पर्खेर बसेका छौं,’ नेता नेपालले भने, ‘आरजुजीले पनि तालमेलको कुरा गर्नुभएछ धन्यवाद छ उहाँलाई । हामीसँग मेलखानेसँग हातेमालो गर्दै जान्छौँ ।’
नेता नेपालले माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल हुने बताए । ‘मोहन विक्रमजीको पार्टीले हामीसँग तालमेलको कुरा गरेको छ, उपेन्द्र यादवले मिलेर जाने कुरा गर्नुभएको छ । कांग्रेसभित्रको एउटा हिस्साले पनि तालमेल गरेर जाने कुरा गरेको छ । तर, यो गठबन्धन तोड्न केपी ओली लागिपरेका छन्,’ नेता नेपालले अगाडि भने, ‘केपी ओली पनि गठबन्धन गर्दैछन्, को सँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन्, राप्रपासँग साठगाँठ गर्न गरिरहेका छन् । विदेशीको दलाली गर्नेसँग तालमेलको कुरा गरेका छन् । दक्षिणपन्थी दक्षिणपन्थीसँग मिल्छन् । हामी वामपन्थीसँग मिल्छौँ ।’