
काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले संघर्ष र टकराव कसैको पनि हितमा नभएको बताएका छन् । शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भिडियो कुराकानीमा सीले ‘राष्ट्र-राष्ट्र बीचको सम्बन्ध सैन्य संघर्षमा जान नहुने’ बताएका हुन् ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार बाइडेनसँगको कुराकानीमा सीले संघर्ष र टकरावले कसैको पनि हित नहुने बताएका हुन् । ‘राष्ट्र-राष्ट्रको सम्बन्ध सैन्य संघर्षमा जान हुँदैन । संघर्ष र टकराव कसैको पनि हितमा छैन । शान्ति र सुरक्षा अन्तर्राष्ट्रिय समुदायको सबैभन्दा ठूलो गहना हो,’ सीको भनाइ उद्धृत गर्दै सीसीटीभीले भनेको छ ।
चिनियाँ राष्ट्रपति सीले शान्ति स्थापनाको उत्तरदायित्व अमेरिका र चीनको भएको पनि उल्लेख गरेका छन् । विश्वमा अहिले विभिन्न टकराव देखिइरहेको उल्लेख गर्दै सीले बाइडेनसँग भनेका छन्, ‘अहिले विश्व न शान्तिपूर्ण छ न शान्त । युक्रेनमा जे संकट देखा परेको छ, त्यो हामीले हेर्न चाहेको कुरा होइन ।’ संयुक्त राष्ट्र संघको स्थायी सदस्य भएकाले पनि अमेरिका-चीनले द्विदेशीय सम्बन्धलाई सही बाटोमा डोर्याउने मात्र नभएर अन्तर्राष्ट्रिय समुदायमा शान्ति स्थापनाका लागि पनि भूमिका खेल्नुपर्ने सीले बताएका छन् ।
सी र बाइडेनबीच करिब १ घण्टा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
युक्रेन-रुस द्वन्द्व चर्किरहेका बेला विश्वका दुई शक्तिशाली राष्ट्रका राष्ट्रपतिबीच भएको कुराकानीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अमेरिकी अधिकारीहरूले चीनले रुसलाई सैन्य सहयोग उपलब्ध गराउने विषयमा ‘पर्ख र हेर’ रणनीति अपनाइरहेको र यसले पश्चिमसँगको सम्बन्धमा असर पर्ने बताइरहेका बेला सी र बाइडेनबीच कुराकानी भएको हो ।
यसैबीच मानवअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयले रुसी आक्रमण सुरु भएयता युक्रेनमा ८ सयभन्दा बढीको मृत्यु भएको जनाएको छ । धेरैजसो मृत्यु विस्फोटक हतियारका कारण भएको पनि कार्यालयले जनाएको छ । शुक्रबार कार्यालयले जनाएअनुसार १५२, पुरुष ११६ महिलाका साथै ३६ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ४८९ जनाको भने लिंग नखुलेको कार्यालयले जनाएको छ ।