
बुधवार एक नाबालिग गायिकाले तनहुँ जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणीको आरोपमा जाहेरी दिएपछि अभिनेता पल शाह फरार छन् । तनुहँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको ४८ घन्टा वितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । यतिबेला प्रहरीले उनीसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्नुका साथै निरन्तर उनको फोन ट्यापिङमा राखेको छ ।
यसैक्रममा, बिहीवार पल शाहले आफूलाई निर्दोष प्रमाणित गर्न आफूमाथि सहकर्मीहरुले षड्यन्त्र गरेको भन्दै फेसबुकमा ६ वटा अडियो रेकर्डहरु सार्वजनिक गरेका थिए । ती अडियो रेकर्डहरुमा गायक तथा मोडल दुर्गेश थापा, गायक तथा गीतकार सरोज वली, पल शाहका म्यानेजर कृष्ण जोशी, अर्का गायक सम्राट चौलागाईं र गायिका समीक्षा अधिकारीबीचको संवाद सुन्न सकिन्छ ।
पलले अडियो रेकर्ड सार्वजनिक गरेपछि प्रहरीमा जाहेरी दिएकी नाबालिग गायिकाले ‘सिधा कुरा’ नामक टेलिभिजन कार्यक्रममा आफूले फसाउन खोजेको भए सजाय भोग्न तयार रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘सत्यको अवश्य नै जीत हुन्छ । मैले उहाँ (पल शाह) लाई फसाउन खोजेको रैछु भने म सजाय भोग्न तयार छु । उहाँले अन्याय गर्नुभएको रहेछ भने सजाय हुनुपर्छ ।’
ती गायिकाले कसैले उक्साएरको भरमा आफू नउक्सिएको पनि स्पष्टिकरण दिएकी छन् । उनले अहिले आफू पीडामा रहेको र आफूले केही गल्ती नगरेको बताएकी छन् । आफूहरुको सम्बन्ध लुकाउन पल शाहले पटक-पटक दबाब दिएकाले मिडियामा आफूले सत्य कुरा लुकाएको पनि उनले अन्तर्वार्तामा भनेकी छन् । पल शाहले आफ्नो फिलिङग्ससँग खेलेको उनको आरोप छ ।
ती गायिकाले भनेकी छन्, ‘उहाँले मेरो परिवारलाई भेटेर विवाह गर्छु तर उजुरी नहाल्न आग्रह समेत गर्नुभएको थियो । उहाँले मलाई पनि ‘अब मिलेर जाऊँ, पब्लिकलाई हाम्रो राम्रोसँग विवाह भएको हो भनेर देखाऊँ, अहिले मलाई बचाउ’ भन्नुभएको थियो । मैले अन्धो भएर विश्वास गरेँ । तर, जब उहाँको स्वार्थ पूरा भयो अनि ‘तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लाग्छु’ भन्नुभयो ।’
गायिकाले अगाडि भनेकी छन्, ‘मेरो परिवारकै अगाडि उहाँले हाम्रो सम्बन्ध स्वीकार्नु भएको छ । तर, पछि ‘प्रेग्नेन्ट भएको भए स्वीकार्थे, गर्लफ्रेन्ड-ब्वाईफ्रेन्डमा त भइहाल्छ नी’ भन्नुभयो । अहिले त्यो अडियो रेकर्डमा सुनेको आवाज ‘कसैले मेरो क्यारिकेचर गरेको हो’ भनेर भन्नुभएछ । यो कुराले म साह्रै दुःखी छु । उहाँको बानी नै यस्तै रहेछ । अहिले मलाई निकै गाह्रो भइरहेको छ ।’
पल शाहले बिहीवार सार्वजनिक गरेको अडियो रेकर्डको बारेमा पनि गायिकाले भनेकी छन्, ‘वास्तवमा पीडित म हो । कसैले उकासेर उक्कासिएको पनि होइन । मैले पीडा सहन नसकेर सहकर्मी साथीहरुलाई सबै कुरा भनेको थिएँ । त्यो कुरालाई रेकर्ड गरी इडिट गरेर मेरो कमी कमजोरीहरुलाई मात्र देखाउन खोजिएको छ । त्यहाँभित्र भएका वास्तविक कुरालाई लुकाइएको छ ।’