शनिबार , भाद्र १३, २०८३

काठमाडौँ — कुशल भुर्तेलको शतकमा नेपालले ट्वान्टी–२० विश्वकप छनोटमा लगातार दोस्रो विजय हात पारेको छ । शनिबार कमजोर फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरी नेपाल सेमिफाइनल नजिक पुगेको हो ।

फिलिपिन्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले कुशल भुर्तेलको शतकमा निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय १८ रन बनायो । जबाफमा आएको फिलिपिन्सले ८ विकेट गुमाई ८२ रनमात्र बनाउन सक्यो ।

फिलिपिन्सबाट जोर्डन एलेग्राले २७ रन बनाई अविजित रहे । ओपनर डायिनल स्मिथले २० रन र कप्तान जोनाथन हिल्सले ११ रन बनाए । नेपालबाट कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा ९ रनमात्र खर्चे । जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र पहिलो खेल खेलिरहेका गुलशन झाको नाममा १–१ विकेट रहयो ।

यसअघि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटमा १ सय ७१ रनको साझेदारी गरी नेपाललाई विशाल स्कोरमा उभ्याएका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी साझेदारी हो । कुशल १ सय ४ रन बनाई अविजित रहे । दीपेन्द्र ८३ रन बनाएर अन्तिम दोस्रो ओभरमा आउट भए ।

कुशल भुर्तेल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सतक बनाउने तेस्रो नेपाली खेलाडी बने । यसअघि नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सतक बनाउने पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल थिए । पारसले सिंगापुरमा २०१९ मा त्रिकोणात्मक शृंखलामा अविजित १ सय ६ रन बनाएका थिए । त्यस्तै ज्ञानेन्द्रले २०१९ मा नेपालमा दक्षिण एसियाली खेलकुदमा भुटानविरूद्ध १ सय ७ रन बनाएका थिए ।

३२ बलमा अर्धशतक पुरा गरेका कुशल भुर्तेलले ६१ बल खेली १३ चौका र १ छक्का प्रहार गरे । उच्च फर्ममा रहेका दीपेन्द्र ४७ बल खेली ६ चौका र ७ छक्का प्रहार गरे ।

नेपालले पुन: एक पटक राम्रो सुरुआत गर्न सकेको थिएन । आसिफ शेख दोस्रो ओभरको पहिलो बलमै शुन्यमा आउट भए । आफुले सामना गरेको पहिलो बलमै आसिफलाई डानियल स्मिथले एलबीडब्लु आउट गरे ।

प्रतियोगितामा पहिलो खेल खेलिरहेको कुशल मल्ल १० बलमा १२ रन बनाई मिगी पोडोस्कीको बलमा आउट भए । कुशल नेपालको १४ सदस्यीय टोलीमा रहेका थिएनन् । तर भेट्रान शरद भेषावकर एङकलको चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि मौका पाएका कुशललाई शनिबार फिलिपिन्सविरूद्ध सोझै खेल्न दिइएको थियो ।

यसै प्रतियोगितामार्फत ३ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरिरहेको फिलिपिन्सविरूद्ध ओमनले अघिल्लो दिन २ सय १६ रन बनाउदै खेल १ सय १८ रनले खेल जितेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १३ र फिलिपिन्स ४७ औं स्थानमा छ ।

नेपालले अघिल्लो दिन ओमानमाथी ३९ रनको महत्वपूर्ण विजय हात पारेको थियो । समूह ‘बी’ को अर्को खेलमा घरेलु टोली ओमानले क्यानाडालाई ९ विकेटले पराजित गरेको छ । नेपालको ४ तथा ओमान र क्यानाडाको २–२ अंक छ । फिलिपिन्स पहिलो दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘ए’ मा यूएई, आयरल्यान्ड, बहराइन र जर्मनी छन् । सेमिफाइनल जित्ने दुई टोली अस्ट्रेलियामा यसै वर्ष हुने ट्वान्टी–२० विश्वकपमा प्रवेश गर्नेछ ।

Via Ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP