मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला आन्तरिक र बाह्य दबाबको चेपुवामा परेका छन् । एकातिर एमसीसीलाई फेब्रुअरीको डेड लाइनभित्र निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री शेरबहादुर देउवादेखि अमेरिकासम्मको दबाब प्रचण्डमाथि छ भने अर्कोतिर पार्टी पदाधिकारी चयन गर्दा पार्टीभित्र सन्तुलन मिलाउनुपर्ने दबाब पनि त्यतिकै छ । त्यही दबाबका कारण प्रचण्ड माघ २८ गते बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक नै सार्न बाध्य भएका छन् ।

शुक्रबारको केन्द्रीय समितिको बैठकको सबै तयारी पुरा भइसकेको थियो । बैठकमा पेस गर्ने पदाधिकारीको प्यानल पार्टी अध्यक्ष प्रचण्डले बिहीबारसम्म टुङ्गो लगाउने भनिएको थियो । माओवादी स्रोतले रातोपाटीसँग भन्यो, ‘पार्टीभित्र र बाहिरको घेराबन्दीमा परेपछि अध्यक्षले बैठकबारे होमवर्क नै गर्न पाउनुभएन । त्यही भएर अन्तिम समयमा बैठक नै स्थगित गर्नुपर्ने अवस्था आयो ।’

कार्यकर्ताकै ‘घेराबन्दी’
स्थानीय चुनावको मिति घोषणा भएपछि प्रचण्ड निवास खुमलटारमा यतिबेला पार्टीका नेता कार्यकर्ताको लाइन नै लाग्न थालेको छ । पार्टी प्रवेश गर्नेदेखि चुनावी छलफल गर्ने काम खुमलटारमा नै भइरहेको छ । प्रचण्डका सचिवालयका एक सदस्यले भने, ‘नेता कार्यकर्ताहरू पूर्व जानकारी बिना नै आइपुग्नु हुन्छ । कोही पार्टी प्रवेश गर्ने भन्नुहुन्छ, कोही के समस्या लिएर आउनुहुन्छ । उहाँहरू घरमा नै आएपछि नभेट्ने कुरा भएन । आजभोलि अध्यक्षको धेरै समय भेटघाटमा नै बित्न थालेको छ ।’
अब बस्ने बैठकले केन्द्रीय समितिलाई पूर्णता दिनुका साथै १५ सदस्यीय केन्द्रीय पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो कमिटीलाई समेत पूर्णता दिने कार्यतालिका रहेको थियो । माओवादीको पार्टी विधानअनुसार केन्द्रीय कमिटीले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी चयन गर्नेछ । तर आकांक्षी धेरै भएपछि प्रचण्डलाई यतिबेला भागबण्डा मिलाउन नै सकस परिरहेको छ ।

​यस्तोमा नेता–कार्यकर्ताकै ‘घेराबन्दी’ मा प्रचण्डले प्यानल नै तयार गर्न पाएनन् ।

एमसीसीको दबाब
पार्टीभित्र मात्र होइन, प्रचण्डमाथि पार्टी बाहिरबाट पनि उत्तिकै दबाब छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर प्रचण्डले एमसीसी सम्झौता पारित गर्नका लागि केही समय माग गर्दै पत्र लेखेका थिए । दुई नेताले मागेको समय फेब्रुअरी महिनाको अन्तिममा सकिँदैछ । यसका लागि फेरि समय थप गर्न नसकिने अमेरिकाले स्पष्ट पारिसकेको छ । यही डेड लाइनभित्र एमसीसीलाई जसरी पनि पारित गराउन दबाब बढ्दो छ ।

प्रधानमन्त्री देउवा फागुन २ गते बोलाइएको प्रतिनिधिसभाको बैठकमा जसरी पनि एमसीसीलाई टेबल गर्न चाहन्छन् । यसका लागि देउवाले प्रचण्डलाई निरन्तर दबाब दिइरहेका छन् । उता, अमेरिकी पक्षले पनि प्रचण्डलाई त्यतिकै प्रेसर गरिरहेको छ । बिहीबार मात्रै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रचण्डलाई फोन नै गरेर फेब्रुअरीभित्र ‘एनी हाउ’ एमसीसीलाई निष्कर्षमा पुर्‍याउन दबाब दिएका छन् । माओवादी स्रोतका अनुसार प्रचण्डले लुलाई एमसीसी पारित गर्ने म्याद केही समयका लागि थप्न आग्रह गरे पनि लुले प्रचण्डलाई अब त्यो कुरा सम्भव नभएको स्पष्ट पारेका छन् । लु गत मङ्सिर १ मा पनि नेपाल नै आएर नेपालका नेताहरूलाई एमसीसी पारित गर्न दबाब दिएका थिए ।

अनि सर्‍यो बैठक
बिहीबार दिउँसो बैठकबारे छलफल गर्न अर्का नेता नारायणकाजी श्रेष्ठ प्रचण्ड निवास खुमलटार पुगेका थिए । श्रेष्ठ खुमलटार पुगेपछि प्रचण्डले आफ्नो दुःखको पोको फुकाए । उनले आफूले बैठकबारे कुनै होमवर्क नै गर्न नपाएको कुरा श्रेष्ठलाई सुनाए । आफू पार्टीकै नेता कार्यकर्ताको घेराबन्दीमा परेकोदेखि एमसीसीबारे आएको दबाबबारे प्रचण्डले श्रेष्ठलाई सुनाएपछि दुवै नेता भोलिको बैठक स्थगित गर्ने निष्कर्षमा पुगे ।

माओवादी स्रोतका अनुसार प्रचण्ड अब फागुन २ गतेसम्म पर्ख र हेरको अवस्थामा छन् । त्यस दिन बोलाइएको प्रतिनिधासभा बैठकमा सरकारले एमसीसीबारे कस्तो कदम चाल्छ, त्यसअनुसार आफ्नो मुभ अघि सार्ने पक्षमा प्रचण्ड छन् । ‘पार्टीको बैठक फागुन २ गते पछि बस्नु नै उपयुक्त हुने अध्यक्ष प्रचण्डको बुझाइ छ । अब सायद त्यस दिनपछि मात्र पार्टीको बैठक बस्छ होला, माओवादी स्रोतले रातोपाटीसँग भन्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP