सोमबार , अषोज २६, २०८३

भेरोसेलको अभाव भएपछि सरकारले पहिले भेरोसेल लगाएकालाई पनि बुस्टर डोज खोपका रुपमा कोभिसिल्ड दिने निर्णय गरेपछि धेरै अलमलमा परेका छन् ।

सरकारले बुस्टर मात्रामा पहिले लगाएको खोप भन्दा फरक खोप दिने निर्णय गरेपछि केही अलमल देखिएको हो । तर स्वास्थ्य मन्त्रालयले ढुक्क भएर बुस्टर मात्राको खोप लगाउन आग्रह गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसका आधारमा सरकारले बुस्टर खोपको मात्रा फरक खोप दिने निर्णय गरेको हो । नेपालमा खोप कार्यक्रम सुरु भएपछि अहिलेसम्म भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनेका, जोनसोन एण्ड जोनसोन, मोडर्ना र फाइजर खोप प्रयोग भइरहेको छ ।

पहिलो र दोस्रो मात्रा कोभिसिल्ड/एस्ट्राजेनेका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएका ६० वर्षमाथिकालाई बुस्टरका रुपमा कोभिसिल्ड वा एस्ट्राजेनेका दिइनेछ । कोभिसिल्ड र एस्ट्राजेनेका खोप एउटै कम्पनी र एउटै सूत्रमा बनेको हो ।

पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रामा त्यही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन भनिएको छ । त्यस्तै, विदेशमा पहिलो मात्रा कोभिसिल्ड,/एस्ट्राजेनेका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकालाई दोस्रो मात्राको रूपमा कोभिसिल्ड वा एस्ट्राजेनेका खोप प्रदान गर्ने निर्णय गरिएको हो ।

कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएको ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिनेहरु, ६० वर्षमाथिका सबै नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई अहिले बुस्टर मात्रा उपलब्ध छ । उनीहरुले पहिला जुन खोप लगाएको भए पनि बुस्टरका रुपमा कोभिसिल्ड/एस्ट्राजेनेका दिइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.सङ्गिता कौशल मिश्रले बताउनुभयो ।

बुस्टर डोज के हो त ?

शरीरमा कोरोना भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता आवश्यक छ । खोपले रोग प्रतिरोधात्मक क्षमता बनाउँछ । खोपको बुस्टर मात्रा पनि रोग प्रतिरोधात्मक क्षमता बढाउन दिइन्छ।

जुन रोगविरुद्ध लड्न प्रभावकारी हुन्छ । कोरोना भाइरसविरुद्ध दिइने खोपबाट शरीरमा विकसित हुने प्रतिरक्षात्मक क्षमता घट्दै गएपछि त्यसलाई पुनः सक्रिय बनाउन दिइने खोपको मात्रा बुस्टर हो।

एक पटक लगाएर ढुक्क भएर बस्ने अवस्था नरहेकाले रोग प्रतिरोधात्मक शक्तिलाई अझ बढाउन मात्रा थप गर्नुपर्ने विज्ञहरु बताउँछन् । अतिरिक्त मात्रा र बुस्टर मात्रामा पनि भिन्नता भएको उनीहरुको भनाइ छ ।

अतिरिक्त मात्रा र बुस्टर मात्रामा फरक

अतिरिक्त मात्रा र बुस्टर डोज दुई फरक मानिन्छ । कसैलाई दुई डोज खोप दिए पनि मानिसको शरीरले एन्टीबडी बनाउने क्षमता कम हुन्छ । जो दीर्घरोगी छन्, सक्रिय क्यान्सरबाट गुज्रिरहेका छन्, एचआईभी भएका/अङ्ग प्रत्यारोपण गरेका तथा उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि खाइरहेकाहरुमा दुई वटा डोजले पनि सामान्य व्यक्तिमा जस्तो एन्टीबडी बन्दैन । उनीहरुलाई आवश्यक पर्ने मात्रा अतिरिक्त मात्रा भनिन्छ । तर बुस्टरका रुपमा दिइने खोप सम्पूर्णलाई दिइन्छ ।

‘बुस्टर सामान्य व्यक्तिलाई पनि आवश्यक पर्छ । कहिलेकाहीँ अतिरिक्त मात्राले पनि रोग प्रतिरोधात्मक क्षमता बढेन, राम्रो काम गरेन भने त्यस्ता व्यक्तिलाई पनि थप बुस्टर खोप दिनुपर्छ’ प्रवक्ता मिश्राले भन्नुभयो, ‘एन्टीबडी रोगप्रतिरोधका लागि शरीरमा बन्ने तत्त्व घट्दै गएपछि थप खोप नदिए फेरि रोग लाग्न सक्ने सम्भावना बढ्दै जाने भएकाले बुस्टर डोज लगाउनुपर्ने हुन्छ । त्यसले गर्दा शरीरमा भाइरससँग लड्ने एन्टीबडीको तह उच्च हुनेछ ।’

फरक खोप भए पनि ढुक्क हुन आग्रह

बुस्टर मात्रामा लगाउने खोप यसअघि पूर्ण मात्राका रुपमा लगाएको खोप भन्दा फरक भए पनि ढुक्क भएर लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

‘मिक्स खोपको मात्राले स्वास्थ्यलाई कुनै असर गर्दैन, डब्ल्यूएचओले नै यो विषयमा प्रस्ट भनिसकेकाले अलमलमा पर्नु पर्दैन’ डा.मिश्रले भन्नुभयो, ‘खोपको उपलब्धता र विश्व स्वास्थ्य सङ्गठनको धारणा अनुसार नै स्वास्थ्य मन्त्रालयको विज्ञ समितिले बुस्टर मात्रामा कोभिसिल्ड खोप लगाउन सुझाएको हो ।’

बुस्टर मात्रा लगाउन आवश्यक कागजात

दुवै मात्रा खोप लगाएको खोप कार्ड,

कार्यरत संस्थाको परिचय पत्र,

रोग प्रतिरोधात्मक क्षमता कम भएकाको हकमा उपचार गराइरहेको वा औषधि सेवन गरिरहेको अस्पतालको पुर्जा,

६० वर्ष माथिकाको हकमा उमेर खुल्ने परिचयपत्र ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP