मंगलबार , बैसाख २९, २०८३

कोभिड १९ संक्रमित एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।

भक्तपुरको बालकोटस्थित उनकै निवास नजिकै भएको रक्तदान कार्यक्रममा ओली सहभागी भएको भिडिओ सार्वजनिक भएको हो।

ओलीलाई गत माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

बुधबार भएको कार्यक्रमको सार्वजनिक भिडिओमा ओलीले ‘सार्वजनिक कार्यक्रममा तपाईँहरूले पनि डिस्टेन्स मेन्टेन गरेर बस्नुहोस्,’ भनेर भनेका छन्।

उनको त्यो बोली खस्न नपाउँदै एउटी महिलाले जवाफ दिइन्, ‘हामीलाई बा भएपछि केही हुँदैन।’ त्यसपछि हाँसोको फोहोरा सुनिन्छ/देखिन्छ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुर र स्थानीय पार्टीले बालकोटमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा ओलीलाई सबैले स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।एमालेको भातृ संगठन युवा संघले अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गर्दै सप्ताहब्यापी रक्तदान कार्यक्रम गरेको हो।

कार्यक्रममा सहभागी भएका ओलीले युवासंघले ठूला रक्तदानमा ‘हिस्टोरिकल ब्रेक’ गरेको बताए। युवा संघका संस्थापक अध्यक्षसमेत रहेका ओलीले आफ्ना धारणा राख्दै गर्दा उनलाई वरिपरीबाट कार्यकर्ताले घेरेका थिए।

कार्यक्रममा ओली पत्नी राधिका शाक्य पनि पुगेकी थिइन्। शाक्यलाई भने कोभिड-१९ संक्रमण नभएको एमालेले यसअघिनै जनाएको छ। शाक्यले ‘यहाँ भन्दा त हाम्रै आँगनमा गरेको भए हुन्थ्यो नि,’ भनेर भनेकी छन्।

कार्यक्रममा युवा संघका इन्चार्ज महेश बस्नेत, पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा र युवासंघका अध्यक्ष किरण पौडेललगायतको सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै युवासंघ इन्चार्ज बस्नेतले ओमिक्रोनका कारणले रगतको कमी नहोस् भनेर रक्तदान गरिएको बताए।

बस्नेतले पार्टी अध्यक्ष ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपत्यकामा बढ्दो रगत अभावलाई कम गर्ने उद्धेश्यले आजबाट अभियान शुरु गरेको बताए। ‘ओमिक्रोन भाइरसका कारणले संक्रमित भएर अस्पतालमा रहेका बिरामीलाई रगत पूर्ति गर्ने उद्धेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो,’ बस्नेतले भनेका छन्, ‘नेपाली जनताका अभिभावक राजनेता केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै रक्तदान भएको हो।’

संघीय सांसदसमेत रहेका बस्नेतले युवाहरू रगत मात्रै नभई आवश्यक परे देशका लागि बलिदान गर्न तयार छौं भन्ने सन्देश युवा संघले दिँदै आएको बताए। उनले केपी ओलीले कोभिड–१९ को ओमिक्रोन भाइरसलाई मात्रै नभई देश र लोकतन्त्र बिरोध भाइरसलाई परास्त गर्न सकुन् भन्ने चाहना युवाहरुको रहेको बताएका थिए।

युवासंघ नेपालका अध्यक्ष किरण पौडेलले आफूहरूले देशब्यापी रक्तदानको सुरूवात भक्तपुरबाट गरेको बताए।

बिहीबार जनकपुर र शुक्रबार चितवनमा गर्न लागिएकोसमेत उनले जानकारी गराए। उनले आफूहरूले पार्टी अध्यक्षलाई कार्यक्रममा नबोलाएको जिकिर गरे।

‘हामीले उहाँलाई बोलाएको होइन। कार्यक्रम भएको देखेर उहाँ परैबाट हेर्न आउनुभएको हो। उहाँलाई कार्यक्रम छ भन्ने त थाहा थियो’, उनले भने, ‘कार्यक्रममा मान्छे यसरी झुम्मिए कि, ‘बा’ भन्दै उहाँको स्वास्थ्य लाभको कामना गर्दै मान्छे आएका हुन्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP