मंगलबार , अषोज २७, २०८३

नेपालमा पनि कोरोना भाइरसविरुद्धको खोपको ‘बुस्टर डोज’ सोमबारबाट दिन थालिएको छ। बुस्टर डोज दिन काठमाडौंका विभिन्न १९ स्थान तोकिएका छन्। सरकारले तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर डोज दिइरहेको छ। आगामी माघ १४ देखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर डोज दिइने पनि जनाइएको छ। काठमाडौंमा सोमबारदेखि नै खोप कार्यक्रम सुरु भएको छ भने ललितपुरका ८ स्थानमा पनि आजबाट सुरु गरिने भएको छ।

अन्य कतिपय देशको तुलनामा नेपालले निकै ढिलो गरेर मात्र बुस्टर डोज लगाउन थालेको हो। इजरायलसहित केही देशले चौथो बुस्टर डोज लगाइरहेको सुक्ष्म जीवाणु विज्ञ डा. सन्तोष दुलाल बताउँछन्। ज्येष्ठ नागरिक, दीर्घ रोगीहरुलाई पहिलो प्राथमिकतामा राखेर बुस्टर डोज दिनुपर्ने उनको भनाइ छ।

कोरोना भाइरसविरुद्धको खोप लगाएको ६ महिनापछि शरीरमा ‘एन्टीबडी’ कम हुने विभिन्न अध्ययनले देखाएको छ। एन्टीबडी कम हुँदै गएपछि कोरोना संक्रमणको जोखिम बढ्दै जान्छ। पूर्ण खोप लगाइसकेकाको शरीरमा कम हुँदै जाने एन्टीबडी पुनः बढाउन लगाइने खोप नै बुस्टर डोज हो।

एक पटक खोप लगाइसकेपछि एन्टीबडी बनाउने कोषिकालाई पुनः सक्रिय बनाउन बुस्टर डोज आवश्यक पर्ने डा. दुलालले बताए। उनले भने, ‘एक पटक खोप लगाइसकेपछि एन्टीबडी बनाउने कोषिकाले केही समयपछि बिर्सन्छ। ती कोषिकालाई सक्रिय बनाउन पुनः खोप दिइन्छ। जसले गर्दा एन्टीबडी बनाउने कोषिका सक्रिय भई पुनः संक्रमण हुनबाट बचाउँछ।’

हाल देखिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई बुस्टर डोजले पनि काम गर्ने उनी बताउँछन्। ‘सरकारसँग करिब एक करोड खोप भण्डारणमा छ। सरकारले खोप अभियानलाई तीव्र गतिमा बढाएर धेरै व्यक्तिहरुलाई लगाउनुपर्छ। बुस्टर डोज पनि दिँदै जानुपर्छ,’ उनले भने।

उनका अनुसार बुस्टर डोज लगाउँदा फरक खोप लगाए बढी प्रभावकारी हुने देखिएको छ। अर्थात्, पहिले कोभिसिल्ड वा भेरोसोल खोप लगाएका व्यक्तिले पुनः कोभिसिल्ड वा भेरोसेल नै लगाउनुभन्दा एष्ट्राजेनेका, फाइजरलगायत खोप लगाए बढी प्रभावकारी हुन्छ। ‘यस्तो खोप कोरोनाबाट जोगाउन प्रभावकारी देखिएको छ,’ उनले भने, ‘केही प्रारम्भिक अध्ययनले छुट्टा छुट्टै काम गर्ने खोपले कोरोनाबाट जोगाएको देखिएको छ।’

कोभिसिल्ड/जोन्सन/एष्ट्राजेनेका खोप लगाएका व्यक्तिले फाइजर/मोडर्ना लगाउन मिल्ने उनले बताए। बाहिरी मुलुकमा पनि फरक खोप नै बुस्टर डोजको रुपमा प्रयोग गरिएको उनको भनाइ छ। नेपालमा पनि त्यसैलाई उदाहरण मानेर बुस्टर डोज लगाए प्रभावकारी हुने विज्ञहरु बताउँछन्।

कोरोनाको दोस्रो लहरमा डेल्टा भेरियन्टबाट संक्रमितको संख्या करिब ९९ प्रतिशत थियो। अहिले विश्वभरि नै ओमिक्रोनबाट संक्रमित बिरामी बढिरहेका छन्। ओमिक्रोन भेरियन्टका लागि अहिले उपलब्ध खोपले नै काम गर्ने डा. दुलालले बताए। कोरोना भाइरसको भेरियन्ट परिवर्तन भइरहे बुस्टर डोज पनि सोहीअनुसार आवश्यक पर्न सक्ने उनको भनाइ छ।

कोरोनाको पूर्ण खोप लगाएको ६ महिनापछि बुस्टर डोज लगाउन मिल्ने भए पनि कति समयपछि दिने भन्ने सरकारले ल्याउने नीतिमा भर पर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। खोप लगाएपछि शरीरमा बन्ने एन्टीबडीको क्षमता वृद्धिका लागि बुस्टर डोज आवश्यक पर्ने उनको भनाइ छ।

नेपालमा अझै पनि धेरै व्यक्ति खोपको पहुँचबाहिर रहेकाले पहिलो प्राथमिकतामा उनीहरुलाई राख्नुपर्ने पुनले बताए। सबैलाई खोप पुर्‍याएपछि आवश्यकता अनुसार बुस्टर डोज दिनुपर्ने उनको भनाइ छ। सबैलाई एकै पटक बुस्टर डोज दिन नसक्ने हुँदा जोखिमको आधारमा प्राथमिकता निर्धारण गर्नुपर्ने उनी बताउँछन्।

डा. पुनले भने, ‘विकसित देशहरुमा खोप पर्याप्त भएकाले उनीहरुले दोस्रो, तेस्रो बुस्टर डोज पनि लगाएका छन्। तर, नेपालमा अझै पनि धेरै व्यक्तिले खोप लगाएका छैनन्। त्यसैले खोप नपाएका व्यक्तिलाई खोप दिनुपर्छ। जोखिमको आधारमा बुस्टर डोज दिनुपर्छ।’

कोरोनाको पूर्ण खोप लगाए पनि ६० वर्ष उमेरमाथिका व्यक्तिमा समस्या आएको देखिएको छ। त्यसैले ६० वर्ष माथिका ज्येष्ठ नागरिक, दीर्घ रोगीहरुलाई बुस्टर डोजको पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ।

नेपालमा अझै आधाभन्दा धेरै जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाउन बाँकी छ। खोप अभियान सुरु भएदेखि हालसम्म करिब २ करोड २६ लाख मात्रा खोप लगाइएको छ। जसमध्ये करिब १ करोड २७ लाखले पहिलो मात्रा र करिब ९९ लाखले खोपको पूरा मात्रा लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP