शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न सुझाव दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडांैमा गरेको खेलकुदसंग प्रधानमन्त्री अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको दृष्टान्त दिदै ओलीले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिम देखि खेलप्रतियोगिता सम्मका खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिए । उनले गत बर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको भन्दै जुनसुकै खेल पनि पदक पाउने गरी खेल्नुपर्ने धारणा राखे ।

सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धीको रुपमा लिएको स्पष्ट गर्दै ओलीले अभ्यासलाई जित्ने तहमा उठाउनु जरुरी रहेको भन्दै उहाँले राम्रो प्रशिक्षक र आधुनिक प्रविधि प्रयोग गर्न सुझाव दिए । खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनी चर्चा हुने गरेको प्रसंग उल्लेख गर्दै उनले बिजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको बताए ।

हारजीतको ठूलो महत्व रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपाल कहिल्यै नहारेको देश रहेकाले खेलमा पनि जितका लागि खेल्न आग्रह गरे । उनले भने, “लडाईमा नहार्ने देश यत्रा यत्रा डल्लासँग किन हार्ने ? खेल भन्या के हो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा बल हान्ने हो, त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्फु र भारत्तोलनमा किन हार्ने ? ” अशान्ति जित र हारका आधारमा हुने भन्दै ओलीले भने“संसद भंग भईसक्यो चुनाव हुन लागिसक्यो, हुनुहुदैन भनेर कराईरहेका छन् त्यो जितका लागि हो ।”

प्रधानमन्त्री ओलीले जीतका लागि अतिआवश्यक, अपरिहार्य र न्युनतम आवश्यकता परिपुर्ति गर्ने गरी सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । पछिल्लो समय आवश्यक सामान किन्नका लागि नभई राम्रो देखिएको सामान किन्नका लागि ‘सपिङ’मा निस्कने चलन देखिएको भन्दै उनले भने, “चाहिएको कपडा/सामान किन्नका लागि होइन, राम्रो देख्यो उठायो । सरकारले सपिङका लागि होइन,चाहिएको सामान किन्नका लागि सहयोग गर्न सक्छ । गच्छेअनुसारको सहयोग गर्छ । अगामी बर्ष पहिलेको बजेट भन्दा बढेर आउँछ । ”

नेपालको भूगोल अनुसारको खेल उत्पादन गरी प्रतियोगिताहरुमा त्यस्ता खेललाई सहभागी गराउन ओलीले परिषद्लाई सुझाव दिए । खर्चको कमी भयो भनेर सहभागता नै गुमाउने अवस्था आउन नदिने तर्फ पनि सचेत हुन उनले सुझाव दिए । उनले खेल जित्ने गरी तयारी गर्नुको साथै अत्याधिक सहभागीता गराउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले कोभिड १९ को संक्रमणको जोखिम न्यून हुदै आएको भन्दै अब अन्य क्षेत्र जस्तै खेलकुल क्षेत्र पनि छिटै पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे । उनले खेल क्षेत्रमा सरकारको सधै सहयोगी भूमिका रहने विश्वास दिलाए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय अन्तराष्ट्रिय प्रतिष्पर्धामा मात्रै नभई खेललाई स्वास्थ्य र सामान्य जीवनको अंग बनाउनुपर्ने बताए । खेललाई सबैले प्रतिरोध क्षमता वृद्धि गर्न र सामाजिक संस्कृति र जीवनपद्धतिको रुपमा स्थापित गर्नुपर्ने बताए ।

आरोग्यता, निरोगी र स्वस्थ्य जीवन जीउनका लागि हरेक उमेरका मानिसहरुले आफ्नो अनुकुलका खेलहरु खेल्नुपर्ने बताए । प्रधानमन्त्रीले विषयगत केन्द्रीत भएर गरिने खेलले स्वास्थ्यलाई राम्रो बनाउने बताउनुभयो । केही कठिनाई भएपनि खेलकुदले मान्छेको श्रम शक्तिलाई बढाउनुको साथै बहुपक्षीय फाइदा पु्याउने भएकाले सामाजिक व्यवहार र आचरणको रुपमा खेलकुदलाई जीवन पद्धती नै बनाउनुपर्नेमा जोड दिए । खेलकुदहरु सामान्य र विशिष्टिकृत भएको उल्लेख गर्दे उनले राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय रुपमा नै यसलाई प्रतिष्पर्धात्मक रुपमा अघि बढाउदै लैजानुपर्ने बताए ।

कार्यक्रममा परिषद्का सदस्य सचिव रमेश सिलवालले सरकारले खेलकुदमा लगानी बढाए त्यसबाट परिणाम पनि राम्रो निस्कने बताए । हरेक जनताको बीचमा खेलकुद पु्याउनु आवश्यक रहेको भन्दै सदस्यसचिव सिलवालले सरकारले भौतिक पुर्वाधार, तालिम लगायतमा लगानी गर्नु आवश्यक रहेको धारणा राखे । उनले उत्पादक क्षेत्रको रुपमा खेलमा राज्यले लगानी गरेमा आफुहरुले त्यसको सही परिणाम दिन तयार रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP