मंगलबार , बैसाख २९, २०८३

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत महामन्त्रीको उम्मेदवार हुने करिब पक्का भएको छ । संस्थापन पक्षबाट महत महामन्त्रीको उम्मेदवार हुने पक्का भएपछि महामन्त्रीका दाबेदार विश्वप्रकाश शर्मा, बालकृष्ण खाण, एनपी साउद लगायत नेताहरु ‘रिङआउट’ हुने सम्भावना छ । काँग्रेसमा महामन्त्रीका दुई सीट हुने भएता पनि एउटा महामन्त्रीमा कृष्णप्रसाद सिटौला पक्षलाई मिलाउनुपर्ने बाध्यता देउवालाई छ । यो अवस्थामा सिटौला समूहबाट युवा नेता प्रदीप पौडेलले महामन्त्री पाउने सम्भावना बढेको छ ।

देउवा पक्षबाट महामन्त्रीमा बालकृष्ण खाण, एनपी साउद, ज्ञानेन्द्र कार्की, विश्वप्रकाश शर्माको दाबी छ । देउवालाई खाण, साउद र कार्कीमध्ये कसलाई रोज्ने भन्ने सकस छ । आफू भन्दा सिनियर नेता खाण, साउद र कार्कीले महामन्त्रीको उम्मेदवारका लागि देउवामाथि दबाब बढाएपछि शर्माले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारबाट ‘ब्याक’ हुने संकेत देखाएका छन् ।

यद्यपि शर्मालाई समेट्न देउवा टीममा युवा पंक्तिले दबाब दिइरहेको छ । संस्थापन इतर पक्षबाट गगन थापा महामन्त्रीको उम्मेदवार भन्ने निश्चित भएकाले शर्मालाई अगाडि सार्दा युवा पंक्तिलाई देउवा टीमसँग जोड्न सजिलो हुने बुझाइ पनि छ ।

१४ औं महाधिवेशनमा पनि सभापतिको दौडमा निस्किएका देउवाले एकजना महामन्त्रीमा प्रकाशशरणलाई अगाडि सार्ने निश्चित भएको काँग्रेसको उच्च स्रोतले बतायो । देउवा पक्षका एक शीर्ष नेताले भने, ‘प्रकाश डाक्टर सापलाई सभापति शेरबहादुर देउवाले महामन्त्री उम्मेदवार बनाउने संकेत दिइसक्नुभएको छ । प्रकाश डाक्टर सापलाई महामन्त्रीको उम्मेदवार बनाउने कुरा टुंगिसक्यो ।’

सिटौलाले भने– देउवासँग कुरा मिल्यो, महामन्त्रीमा प्रदीपको चर्चा

कृष्णप्रसाद सिटौला समूहलाई आफैंसँग मिलाएर जाने तयारी देउवाको तयारी छ । सोमबार साझा देउवा र सिटौलाबीच बालुवाटारमा करिब दुई घण्टा छलफल भएको थियो । उक्त छलफलपछि सिटौला समूह देउवासँग मिलेर जाने करिब निश्चित भएको सिटौला निकट एक नेताले बताए । देउवाले सिटौलालाई उपसभापति बन्न प्रस्ताव गरे पनि उनले एकजना महामन्त्री मागेको देउवा पक्षका एक नेताले बताए ।

उनले भने, ‘सिटौला दाइले शेरबहादुर देउवासँग मेरो कुरा मिलिसक्यो भन्नुभएको छ । त्यसका लागि कृष्ण दाइलाई उपसभापति दिनुपर्ला । उहाँले पहिलेदेखि नै उपसभापति लड्दिनँ भन्दै आउनुभएको हो । अब प्रदीपलाई महामन्त्रीका रुपमा अगाडि सार्न खोजेको देखिन्छ ।’

देउवा पक्षका एक नेताका अनुसार सभापतिलाई बालकृष्ण खाण, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा मध्ये महामन्त्री कसलाई दिने भन्नेमा गाह्रो भइरहेको छ ।

ती नेताले भने, ‘कृष्ण सिटौलालाई उहाँ ल्याउनुपर्ने भयो । उहाँले महामन्त्री माग्नुभयो भनिदिएर प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारी बनाउने सम्भावना देखियो । उहाँलाई एकजना युवा पनि चाहिन्छ भन्ने परेको छ । प्रदीपलाई उम्मेदवार बनाएर जाने सम्भावना छ ।’

प्रदीप पौडेलले भने यसबारे आफूलाई धेरै जानकारी नभएको बताए । उनले भने, ‘सभापति र कृष्ण दाइबीच छलफल भएको पक्का हो । म कृष्ण दाइको महामन्त्री पनि पक्का हो । तर, कृष्ण दाइको प्रस्तावमा देउवा टीममा महामन्त्री बन्ने कुरा टुंगिएको छैन । असम्भव पनि होइन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP