मंगलबार , बैसाख २३, २०८२

नेपाली कांग्रेसको महाधिवेशन संघारमा आइसक्दा पनि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उम्मेदवार छान्न सकेका छैनन्।

देउवा पक्षबाट सभापतिमा फेरि पनि शेरबहादुर नै अगाडि सरेका छन्। उनलाई उपसभापति विमलेन्द्र निधिबाहेक तत्काल कसैले पनि चुनौती दिएको छैन। निधि पनि सभापतिका आकांक्षी हुन्। सम्पर्क कार्यालय खोलेर उनले सभापतिमा उठ्ने तयारी गरिरहेका छन्।देउवाले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यलगायत पदमा को-को उम्मेदवार हुने भन्ने तय गर्न आफूनिकट नेताहरूलाई आज बोलाएका छन्। बूढानिलकण्ठमा आज बिहान बैठक राखिएको देउवानिकट एक नेताले बताए।

दुई उपसभापति, दुई महामन्त्री र आठ कोषाध्यक्षमा क-कसलाई उम्मेदवार बनाउने भन्ने देउवालाई चुनौती छ। देउवा पक्षमा धेरै नेता हुँदा मिलाउनुपर्ने सकस उनलाई छ।

उपसभापतिमा विजयकुमार गच्छदार दोहोरिन चाहेका छन्। लोकतान्त्रिक फोरमलाई कांग्रेससँग मिलाएपछि उनी उपसभापति मनोनित भएका थिए। उनलाई विधान नै संशोधन गरेर त्यसबेला उपसभापति बनाइएको थियो।

साथै महामन्त्री पूर्णबहादुर खड्का पनि उपसभापतिका आकांक्षी छन्। महामन्त्री पदमा सहमहामन्त्री प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद र रमेश लेखक आकांक्षी छन्।

खाणले आफू जुन पदमा भए पनि खासै ठूलो असर नपर्ने बरू सभापतिमा फेरि देउवालाई नै जिताउनुपर्ने तर्क अगाडि सारेका छन्। उनीमाथि गृहजिल्ला रूपन्देहीमा पार्टीका अधिवेशनहरूमा आफूनिकट नेतालाई जिताउन नसकेको आरोप छ। खाणले प्रधानमन्त्री र सभापति एकै व्यक्ति हुनुपर्ने तर्क गरिरहेका छन्।

आकांक्षी व्यवस्थापन गर्न नसके अर्को समूहमा जान सक्ने खतरासमेत देखिएकोले देउवा सचेत ढंगले अगाडि बढिरहेको उनी निकट एक नेताले दाबी गरे।

यही मंसिर २४ गतेदेखि काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन सुरू हुँदैछ। उद्घाटन भएको भोलिपल्ट उम्मेदवारहरूको मनोनयन दर्ताको तालिका छ। तीन दिनभित्र उम्मेदवार तय गरिसक्नुपर्ने दवावमा नेताहरू छन्।

अहिलेसम्मको अवस्था हेर्दा महाधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट एक जना र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सभापतिमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

सिटौलाले आफू सभापतिमा उठ्ने र आफ्नो समूहबाट महामन्त्रीलगायत पदमा पनि उम्मेदवारी रहने बताइरहेका छन्। यो समूहबाट केन्द्रीय सदस्य प्रदीप पौडेल महामन्त्रीका उम्मेदवारका रूपमा प्रस्तुत भइरहेका छन्।

सबैभन्दा धेरै किचलो वरिष्ठ नेता पौडेल पक्षमा देखिएको छ। सभापतिका लागि पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला आकांक्षी छन्। सभापतिका लागि साझा उम्मेदवार छान्न तीन दिनदेखि पौडेल पक्ष बैठक गरिरहेको छ तर निचोडमा पुगेको छैन।

वरिष्ठ नेता पौडेलले मंगलबार चाक्सीबारी बैठकपछि आफूहरू सहमतिनजिकै पुगिसकेको र बुधबार बेलुकीसम्म सहमतिमा पुग्ने दाबी गरेका थिए।

चाक्सीबारी बैठकमा महामन्त्री शशांक कोइरालाले भने सभापतिमा आफ्नो दाबी छाडेका छन्। उनले सबै मिलेर अगाडि बढ्नुपर्ने र सभापतिमा वरिष्ठ नेता पौडेलका लागि आफूले दाबी छाडेको उनको तर्क थियो। साझा उम्मेदवारका लागि पौडेलले पनि दाबी छाड्न सक्ने तर्क उनले गरेका थिए।

यसअघि शशांकले शेखरलाई सभापतिमा छाड्ने समझदारी गरे पनि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बेला शशांक काठमाडौं बाहिर गएका थिए।

पौडेलसहित अरू प्रकाशमान र शेखर भने आफैँ बलियो उम्मेदवार रहेको दाबी प्रस्तुत गरिरहेका छन्। प्रकाशमानले सिंहदरबार अगाडि यलम्बर पार्टी प्यालेस नै भाडामा लिएर महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय खोलेका छन्।

आफूनिकट शीर्ष नेता र केन्द्रीय सदस्यहरूसँग छलफल गरेर पनि पार नलागेपछि पौडेलले आज बिहान ९ बजे बत्तिसपुतलीमा बस्ने गरी फेरि बैठक राखेका छन्।

यो बैठकमा सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र निवर्तमान जिल्ला सभापतिहरूका साथै काठमाडौंमा उपलब्ध पौडेल पक्षका महाधिवेशन प्रतिनिधिलाई पनि सहभागी गराएर सभापतिमा बलियो उम्मेदवारको खोजी गर्न लागिएको छ।

‘हाम्रो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार हुनुपर्छ नत्र सभापति पद फेरि देउवालाई नै बुझाइदिए हुन्छ,’ पौडेल पक्षका एक नेताले भने, ‘जसको नाममा सहमति भए पनि एक ढिक्का भएर जान सके जित्न सकिएला नत्र सकिन्न।’

ती नेताका अनुसार सभापतिको बलियो उम्मेदवार तय गर्न समूहमा भोटिङ गर्नेसम्मका प्रस्ताव आएका छन्। तर यसो गर्दा सन्देश राम्रो नजाने भएकोले भोटिङ गर्न रोकिएको ती नेता दाबी गर्छन्।

पौडेल पक्षलाई सभापति मात्र छान्न सकस होइन, पदाधिकारीदेखि केन्द्रीय समिति सदस्यका उम्मेदवार छान्न पनि उतिकै समस्या पर्नेछ।

‘उम्मेदवार छान्न ढिलाइ भएको छ। तर छिटो उम्मेदवार छान्दा असन्तुष्टलाई देउवाले समेट्न सक्ने खतरा पनि छ,’ एक केन्द्रीय सदस्यले भने, ‘पहिले १३ औं महाधिवेशनमा पनि हाम्रा मान्छे खोसेर उम्मेदवार बनाएकै हुन् ती अनुभवबाट पनि पाठ सिक्नुपर्छ।’

पौडेल पक्षबाट उपसभापतिमा अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत आकांक्षी छन्। बलबहादुरले त उपसभापतिमा आफ्नो उम्मेदवारी रहने घोषणा गरिसकेका छन्। अर्जुननरसिंह भने समूहलाई एकढिक्का राख्दै अगाडि बढ्नुपर्ने भन्दै समन्वयकारी भूमिकामा देखिएका छन्।

केन्द्रीय सदस्य महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्। उनी पनि वरिष्ठ नेता पौडेलनिकट छन्।

महामन्त्री पदमा पनि आकांक्षी धेरै छन्। केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र गगन थापा यो समूहबाट महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा छन्। थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने रिजाल सार्वजनिक रूपमा कुन पदमा उठ्ने भन्ने खुलेका छैनन्।

आठ सहमहामन्त्री पदमा पनि आकांक्षी धेरै छन्। पौडेलनिकट केन्द्रीय सदस्य बद्री पाण्डे र जीवन परियारले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। नेताहरूले उम्मेदवार तय गर्न ढिलाइ गरेपछि आकांक्षीहरूले विभिन्न पदमा उम्मेदवारी दिने कुरा सार्वजनिक गर्न थालेका छन्।

महाधिवेशन आउन दुई दिन र उम्मेदवारी दिन तीन दिनमात्र बाँकी हुँदा पनि देउवा र पौडेल पक्षबाट सभापतिदेखि पदाधिकारी र केन्द्रीय समितिमा उम्मेदवार हुनेहरूको नाम तय हुन सकेको छैन। मंसिर २५ मा मनोनयन दर्ता गरी मंसिर २७ गते बिहानदेखि भोटिङमा जाने तयारी कांग्रेसको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP