
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन रुपन्देहीको भैरहवामा हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचनको तालिका अनुसार रुपन्देहीको भैरहवास्थित महेन्द्र सभागृहमा मंसिर १६ गते दिउँसो १२:३० बजे प्रदेश अधिवेशन उद्धाटन हुनेछ।
गृहमन्त्री बालकृष्ण खाँडले प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए। जोशीका अनुसार १६,१७ र १८ गते हुने लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।
प्रदेश संरचना अनुसार कांग्रेसको यो पहिलो प्रदेश अधिवेशन हो। १७ गते उम्मेदवारी दर्ता गरी १८ र १९ गते प्रदेशमा कार्यसमिति चयन गर्ने कार्यतालिका तय भएको छ।
प्रदेशभरका १५ सय ८५ जना प्रतिनिधिले मतदान गर्ने छन्। अधिवेशनमा ३ हजार बढीको सहभागिता रहने सचिवालय सदस्य शिवप्रसाद गैरेले जानकारी दिए।
गैरेले बाहिरी जिल्लाबाट सहभागी हुन आउनेहरुको लागि खाने र बस्ने व्यवस्था गरिएको जानकारी दिए।