सोमबार , अषोज २६, २०८३

नोट निष्कासन तथा व्यवस्थापनको जिम्मा पाएको राष्ट्र ब्यांकले गत असारसम्म रु. ७९ अर्ब ८१ करोड मूल्य बराबरका नयाँ नोट स्टक मौज्दात रहेको जानकारी सार्वजनिक गरेको छ। केन्द्रीय ब्यांकले गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत असारसम्म रु. ५ देखि १ हजार दरसम्मका विभिन्न नोटको परिमाणमा मौज्दात रहेको जानकारी दिएको हो। यसमध्ये सबैभन्दा धेरै रु. १ हजार दरको रु. ५४ अर्ब १० करोड मूल्य बराबरको नोट मौज्दात रहेका छन्।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा नयाँ नोटको मौज्दात करीब ६ गुणाले बढेको छ। आर्थिक वर्ष २०७६/७७ को अन्त्यमा राष्ट्र ब्यांकमा रु. १३ अर्ब ९ करोड मूल्य बराबरको नोट मात्रै मौज्दात थियो।

नोट छपाईसम्बन्धी गुरुयोजना अनुसार, नयाँ नोट धमाधम छाप्दै गएपछि केन्द्रीय ब्यांकमा नोट मौज्दात बढेको हो। गत आर्थिक वर्ष २०७७/७८ मा राष्ट्र ब्यांकले रु. ५ को दरका ८ करोड थान, रु. १० को दरका ८ करोड थान, रु. २० को दरका १७ करोड थान, रु. ५० को दरका ८ करोड थान, रु. १०० को दरका १२ करोड थान र रु. १००० को दरका १३ करोड थान नोट छपाएको थियो।

केन्द्रीय ब्यांकका अनुसार, गत असारसम्म बजारमा विभिन्न दरका गरी रु. ६ खर्ब ८३ अर्ब ५० करोड मूल्य बराबरका नोट चलनचल्तीमा छन्। यसमध्ये सबैभन्दा धेरै रु. १००० को दरका ४८ करोड ८६ लाख थान नोट प्रचलनमा छन्।

चलनचल्तीमा न्यून भइसके पनि बजारमा रु. १ को दरका १६ करोड १० लाख र रु. २ को दरका ९ करोड २६ लाख थान नोट चलनचल्तीमा रहेको केन्द्रीय ब्यांकको अभिलेख छ।

केन्द्रीय ब्यांकले पूराना र झुत्रा नोटलाई प्रणालीबाट हटाउने व्यवस्था अनुसार, गत आर्थिक वर्षमा रु. १२ अर्ब ५४ करोड मूल्य बराबरका चलनचल्तीमा पठाउन अयोग्य विभिन्न दरका नोट जलाएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP