मंगलबार , बैसाख २९, २०८३

मंसिर महिनाको कृष्णपक्ष तिथिमा एकादशीको उत्पत्ति भएको हुनाले यसलाई उत्तिका एकादशी भनिएको हो । सबै एकादशी मध्ये उत्तिका एकादशी पहिलो भएको हुनाले यस एकादशीको व्रत लिने व्यक्तिहरूले आजकै दिनबाट एकादशी व्रत अनुष्ठानको प्रारम्भ गर्नुपर्दछ ।

पद्मपुराण अनुसार, धर्मराज युधिष्ठिरले एक पटक भगवान् श्रीकृष्णलाई एकादशी तिथिको उत्पत्तिका विषयमा जिज्ञासा राखे । यसैको जवाफमा श्रीकृष्णले भने– सत्य युगमा मुर नामक भयंकर दानवले देवराज इन्द्रलाई पराजित गरेर स्वर्गमाथि आधिपत्य जमायो । तब सबै देवता महादेवको शरणमा पुगे र सम्पूर्ण बेलिबिस्तार सुनाए ।

देवताहरूको पुकार सुनेपछि महादेव देवगणलाई साथै लिई क्षीरसागर पुगे । त्यहाँ शेषनागको शैय्यामा योग–निद्रामा लीन भएका भगवान् विष्णुलाई देखेर देवराज इन्द्रले स्तुति गरी विष्णुलाई जगाए । देवताको अनुरोधमा विष्णुले मुर दैत्य उपर आक्रमण गरे । असंख्य असुरहरुको संहार गरेर नारायण बदरिकाश्राम पुगे ।

त्यहाँ भगवान् बाह्र योजन लामो सिंहावती गुफामा निद्रालीन भए । दैत्य मुर पनि विष्णुलाई मार्ने उद्देश्यले गुफामा पस्यो । मुर प्रवेश गर्नासाथ विष्णुको शरीरबाट दिव्य अस्त्र–शस्त्रले युक्त एक अति रूपवती कन्या उत्पन्न भइन् । ती कन्याले आफ्नो केवल हुंकारले मात्र दानव मुरलाई भस्म बनाइन् । नारायण जागा भएपछि दानव मूरको मृत शरीर देखेर विस्मित विष्णुले सोध्दा, ती कन्याले आफूले दैत्यको वध गरेको बताइन् ।

कन्याको यस्तो अद्भुत पराक्रमबाट प्रसन्न भई विष्णुले एकादशी नामक ती कन्यालाई मनोवाञ्छित वरदान दिई उनलाई आफ्नो प्रिय तिथि घोषित गरिदिए । विष्णुको अभीष्ट वरदान पाएर परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भइन् । श्रीकृष्णले भने– हे युधिष्ठिर जो मनुष्यले जीवनपर्यन्त एकादशीको उपवास गर्दछ, त्यो मरणोपरान्त वैकुण्ठ पुग्दछ । एकादशी समान पापनाशक व्रत अर्को कुनै पनि छैन । एकादशी–माहात्म्य सुन्नाले मात्र पनि सहस्र गोदानको पुण्यफल प्राप्त हुन्छ ।

एकादशीमा उपवास गरेर रात्रि–जागरण गर्नाले व्रत लिने व्यक्ति श्री विष्णुको अनुकम्पाको भागीदार हुन पाउँछ । उपवास गर्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम अन्नको परित्याग गर्नुपर्छ । एकादशीमा अन्न सेवन गर्नाले पुण्य नाश हुन्छ तथा ठुलो दोष लाग्छ । एकादशीको व्रत समस्त प्राणीहरूका लागि अनिवार्य मानिएको छ ।

हिन्दु पञ्चाङ्ग अनुसार एघारौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पटक पूर्णिमापछि र औँसी पछि आउँछ । पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्या पछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीको हिन्दु सनातन सम्प्रदायमा धेरै महत्त्व छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP