
डिल्लीबजार कारागारमा रहेका चिनियाँ नागरिकलाई ‘छुटाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । काभ्रे घर भई काठमाडौंको सुकेधारा बस्दै आएकी २७ वर्षीया रविना थापालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्णप्रसाद पंगेनीले बताए ।
बलात्कार उद्योग मुद्दामा ०७८ असार १८ मा पक्राउ परेका चिनियाँ नागरिक लिउ यु अहिले पुर्पक्षका लागि थुनामा छन् । थुनाबाट ‘छुटाउँछु’ भनेर रविनाले चिनियाँ नागरिकको पत्नीसँग २० लाख ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । थापाले मञ्जु ओली समेतको सहयोगमा ‘न्यायाधीशसँग सेटिङ मिलाएर छुटाउँछु’ भनेर चिनियाँ नागरिककी पत्नी कमला भुसालसँग २० लाख रकम ठगेको एसपी पंगेनीले बताए ।
थापालाई महाशाखाको टोलीले आइतबार साँझ छाउनीबाट पक्राउ गरेको हो । ठगीमा संलग्न अर्की आरोपी मञ्जु ओली फरार छिन् । ठगी मुद्दामा थप अनुसन्धान र कारवाहीका लागी थापालाई महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ ।