मंगलबार , बैसाख २९, २०८३

विदेशीको सहयोगमा बनेको डोब्रा सामुदायिक अस्पताल स्थानीय सरकारको लापरबाहीका कारण गाईभैंसीको गोठमा परिणत भएको छ । जिल्लाको छविसपाथिभरा गाउँपालिका–१ जिवलीस्थित रहेकोे डोब्रा सामुदायिक अस्पताल विगत ९ वर्षदेखि बन्द छ ।अस्पताल बन्द भएपछि अहिले त्यहाँका स्थानीयलाई उपचारमा निकै समस्या भएको छ । उक्त अस्पतालमा रहको संरचना तथा उपकरणहरु बेकामे भएका छन् । २०६६ सालमा जापानी राजदूतावासको आर्थिक सहयोग र स्थानीय जनताको सहभागितामा करिब १ करोड लागतमा निर्माण गरिएको डोब्रा सामुदायिक अस्पतताल अहिले बेवारिसे अवस्थामा रहेको छ ।

जापानी राजदूताबासको ६१ लाख ५० हजार, तत्कालीन ब्याँसी गाउँ विकास समितिको ७० हजार र मटेला गाउँ विकास समितिको ३ लाख तथा स्थानीयको ५० लाखभन्दा बढी जनश्रमदानबाट उक्त अस्पताल निर्माण भएको थियो ।उक्त अस्पताल सञ्चालनमा ल्याउनका लागि पटक–पटक पहल गरिए पनि स्थानीय सरकारले भने कुनै चासो नदेखाएको स्थानीय जयराज रावलले बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘विदेशी सरकारको आर्थिक सहयोग तथा स्थानीयको सहभागितामा अस्पताल बनायौं, डाक्टर पनि आउँछन् शहरको भन्दा बढी सेवा–सुविधा गाउँमै पाइन्छ भनेर आशा लागेको थियो अहिले अस्पतालको नामनिशान नै हराएको छ हाम्रो मेहनत र आस बालुवामा पानी भएको छ ।’ पटक–पटक अस्पताल सञ्चालनमा ल्याउने भनी सम्पूर्ण प्रकिया गरेको भए पनि अन्तिम चरणमा आएर रोकिने गरेको छ ।

कर्मचारी र आर्थिक अभावमा अस्पताल बन्द भएपछि लाखाै मूल्यका संरचना र आधुनिक उपकरणहरु खिया लागेर कवाडीमा परिणत भएका छन् । छबिसपाथिभराबासीलाई अहिले सामान्य रुघाखोकी लागे पनि सदरमुकाम चैनपुर धाउनुपर्ने बाध्यता रहेको छ । दुई घण्टाको बाटो हिँडेर चौघानपाटा र मटेला स्वास्थ्य चौकीमा जानुपर्ने बाध्यता रहेको त्यहाँका स्थानीयले बताएका छन् ।स्थानीय सरकारको लापरबाहीका कारण सो सामुदायिक अस्पताल गाईभंैसीको गोठमा परिणत भएको छ । साविक मटेला गाविसको पनि दूरदराजमा रहेको जिब्ली टोललाई मात्र नभएर सो अस्पतालले छविसपथिभराको झुटेडा, दाम्ना, कँडेल, थलारा, बुडखोरीलगायत दर्जनौं स्थानका स्थानीयलाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएको थियो । अहिले स्वास्थ्य सेवा सञ्चालन नहुँदा स्थानीयलाइ उपचारमा निकै समस्या भएको डोब्रा सामुदायिक अस्पताल व्यवस्थापन समितिका सदस्य गोविन्द सार्कीले बताउनुभएको छ ।

केटाकेटीको खेल्ने चौर, गाईबस्तुको चरन क्षेत्र बन्दै गएको सो अस्पतालमा करिब ३ वर्ष जति राष्ट्रिय योजना आयोगको राष्ट्रिय स्वयंसेवकबाट स्वास्थ्य सेवा प्रवाह भएको थियो । त्यसको रेखदेख स्थानीय समितिले गर्दै आएको थियो । तर, अहिले उक्त अस्पतालभित्र भिडियो एक्सरे मेसिन, तीन किलोवाटको जेनेरेटर, १५ शय्याको बेडलगायतका लाखौं मूल्यको उपकरणहरु खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेको छ ।यता, गाउँपालिकाका अध्यक्ष अक्कल धामीले यसको समिति छुट्टै रहेको र स्थानीय तहलाई हस्तान्तरण नगर्दा आफूहरुले अस्पतालतर्फ ध्यान नदिएको बताउनुभएको छ ।

चुस्त दुरुस्त सेवा प्रवाह हुनुपर्ने ठाउँमा स्थानीय सरकार चुकेको छ । यदि स्थानीय सरकार जिम्मेवार ढंगले प्रस्तुत भइदिएको भए आज उक्त करोडौ लगानीमा निर्माण भएको अस्पताल गाईबस्तुको चरन क्षेत्र बन्ने थिएन । अस्पतालको शुरुआतमा नै स्थानीय सरकारको विमति रहेको र यो ५ वर्षको अवधिभित्र स्थानीय सरकारले सामान्य बजेट छुट्याएर सामुदायिक स्वास्थ्य एकाइसमेत बनाउन नसकेको स्थानीयबासी तथा नेपाली कांग्रेस छबिसपाथिभरा गाउँपालिकाका सभापति पाण्डव थापाले बताउनुभयो । स्थानीय समुदाय, व्यवस्थापन समिति, प्रदेश सरकार र विभिन्न संघ–संस्थाको समन्वयमा अस्पताल सञ्चालनमा ल्याउन सरोकारवाला निकायसँग आवश्यक पहल भइरहेको थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP