मंगलबार , बैसाख २९, २०८३

चिनियाँ कम्युनिस्ट पार्टीले १९ औँ केन्द्रीय कमिटीको छैटौँ विस्तारित बैठकका निर्णय र संकल्पबारे दक्षिण एसियाका कम्युनिस्ट पार्टीहरूलाई ब्रिफिङ गरेको छ । कार्यक्रममा नेपालका कम्युनिस्ट पार्टीहरूका साथै भारत, बंगलादेश र श्रीलंकाका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुको उपस्थिति थियो ।

भर्चुअल रुपमा आयोजना गरिएको आजको बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि आमन्त्रण गरिएको थियो । बैठकमा महासचिव विप्लवले चिनियाँ कम्युनिस्ट पार्टीलाई एकसय वर्ष पूरा गरेकोमा साथै छैटौँ विस्तारित बैठकले लिएका ऐतिहासिक निर्णयका लागि बधाई दिएका थिए । चिनियाँ विशेषतासहितको समाजवादको प्रशंसा गर्दै उनले आफूहरु पनि नेपालमा वैज्ञानिक समाजवादका लागि लडिरहेको जिकिर गर्दै यसका लागि आन्तरिक र वाह्य धेरै चुनौतिहरु रहेको पनि उल्लेख गरेका थिए । अन्त्यमा उनले चिनियाँ नेतालाई कम्युनिस्ट आन्दोलन र समाजवादका विषयमा धारणा माग्दै प्रश्न राखेका थिए ।

यसअघि, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पनि चिनियाँ नेताहरुलाई विस्तारित बैठकको सफलताको शुभकामना दिएका थिए । उनले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले हासिल गरेको सफलताबाट दक्षिण एसिया मात्र नभए विश्वकै कम्युनिस्ट पार्टीहरू प्रभावित बनेको पनि बताए । अध्यक्ष नेपालले सो कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै नेपालमा कम्युनिस्टहरु सत्तामा पुगेपछि अहंकारी बन्ने गरेको र यसले ठूलो संकट निम्त्याउने गरेको पनि जिकिर गरे । यो समस्या नेपालमात्र नभएर विश्वभरका कम्युनिस्ट पार्टी देखिने गरेको उनको भनाइ थियो । आजको कार्यक्रममा नेकपा (एमाले) पनि सहभागी हुने बताइए पनि पार्टीका तर्फबाट कोही सहभागी भने देखिएनन् ।

उता, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ कम्युनिस्ट पार्टीले अंगिकार गरेको सिद्धान्तलाई समीक्षा गर्दै पार्टीको नयाँ यात्रा तय गर्न, चीन र विश्वकै विकासको नयाँ युगको शुरुवात गर्न र विश्वका सबै राष्ट्रहरूबीच ‘विन–विन’ को अवस्थामा विश्वका राष्ट्रबीच सहकार्य गरेर साझा भविष्यसहितको समुदाय निर्माण गर्नका लागि छैटौँ विस्तारित बैठकको विशेष महत्त्व रहेको बताएका थिए । उनले नेपाल सधैँ ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको र तिब्बत, ताइवानलगायतका विषयहरु चीनको आन्तरिक मामिला रहेको भन्ने नेपालको धारणा रहेकोमा पनि जोड दिएका थिए । कार्यक्रममा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का सीताराम यचुरी, बंगलादेशको कम्युनिस्ट पार्टीका नेता दिलिप बरुवालगायतले चिनियाँ कम्युनिस्ट पार्टीलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP