
ठोरी गाउँपालिकामा ८ बिघामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । पालिकाका वडा नं ३ र ४ मा रहेको गाँजा खेती शनिबार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि कात्तिक २९ गते पनि प्रहरीले तीन वडामा ११ बिघा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको थियो । प्रहरीका अनुसार मानव बस्ती नजिक गाँजा खेती फेला परेको हो ।
गाँजा फडानी गरे पनि प्रहरीले खेती गर्ने किसान पत्ता लगाउन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले स्थानीय तहको असहयोगको कारण गाँजा खेती लगाउने जग्गा धनीको पहिचानमा समस्या भइरहेको बताए ।