मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा सो पार्टीसँग भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय यात्रा गर्ने कुरा त्यति सहज नभएको अवस्थामा महाधिवेशनमा उपस्थित हुने अन्तर्राष्ट्रिय पाहुनाको सङ्ख्या तुलनात्मकरूपमा कम हुने आकलन पनि गरिएको छ । सो पार्टीको महाधिवेशनका लागि गठित अतिथि सत्कार कमिटीका संयोजक डा राजन भट्टराईले उपस्थित नहुने पाहुनाले सफलताको शुभकामना सन्देश पठाएको जनाए।

अहिलेसम्म भारतबाट तीनवटा पार्टी भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादी लिवरेशन पार्टीले आउने निश्चित गरेका छन् । फरर्वाड ब्लकले पनि महाधिवेशनमा आउने निश्चित गरेको जनाइएको छ । त्यसैगरी बङ्गलादेशको कम्युनिष्ट पार्टी अफ बङ्गलादेशका तर्फबाट आउने निश्चित भएको छ भने रिभोलेसनरी वर्कर पार्टी र श्रीलङ्काबाट जेभिपी पार्टीका प्रतिनिधि आउने बताइएको छ । एमालेका विदेशका प्रमुख भट्टराईले कम्बोडियाको सत्तासिन पार्टी कम्बोडियन पिपुल्स पार्टीका प्रतिनिधिले आउने निश्चित गरेको र फ्रेञ्च कम्युनिष्ट पार्टीले पनि प्रतिनिधि पठाउने भनेको छ । टर्कीको वामपन्थी पार्टीले आउने निश्चित गरेको छ ।

युरोपमा पनि पछिल्लो समय कोरोना सङ्क्रमण बढेका कारण युरोपियन पार्टीहरुले आउने चासो राख्दा–राख्दै पनि आउन नसक्ने स्थिति भएकाले सन्देश पठाउने भएका छन् । दक्षिण एसियाका अरु रुलिङ पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीले आउन नसक्ने भन्दै शुभकामना सन्देश पठाउने भएका छन् ।

नर्थकोरिया पार्टी, भियतनाम र लावसले प्रतिनिधि नै पठाउन सक्ने या शुभकामना सन्देश पठाउने भन्ने विषयमा टुङ्गो गर्ने भएका छन् । नेता भट्टराईका अनुसार अहिलेसम्म बेल्जियमबाट शुभकामना सन्देश प्राप्त भएको छ । आयरल्याण्डबाट शुभकामना सन्देश प्राप्त भएको छ । जर्मनी र रसियाका तीनवटा पार्टीले शुभकामना सन्देश पठाउने भएका छन् ।

देशभित्रको सङ्घीय संसद्मा रहेका सातवटा राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा निम्ता दिइएको छ । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई यही मङ्सिर ३ गते एमाले नेता सुवास नेम्वाङसहितको टोलीले निमन्त्रणा पत्र हस्तान्तरण गरेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य दलका अध्यक्षलाई पनि निमन्त्रणा दिइएको छ । “हामीले देशभित्रका कूटनीतिक नियोगका प्रमुखहरूलाई पनि निम्ता गरेका छौँ, कतिपय प्रमुखहरूले आउने भनेर हामीलाई खबर पनि गर्नुभएको छ”, भट्टराईले भने ।

अन्तर्राष्ट्रिय पाहुनालाई ढिलोमा मङ्सिर ९ गतेसम्म काठमाडौँ आइपुग्न भनिएको र उनीहरुलाई १० गते बिहान काठमाडौँबाट चितवन लगिनेछ । चितवनमा उद्घाटनसत्रमा सहभागी गराएपछि उनीहरूलाई सौराहाको होटलमा बस्ने व्यवस्था गरिएको छ । उनीहरुको सम्मानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोजको आयोजना गर्नेछन् । त्यससँगै पाहुनाहरुकै सम्मानमा स्थानीय संस्कृतिका बारेमा जानकारी गराउन केही सांस्कृतिक कार्यक्रमको आयोजना तथा उनीहरुलाई सौराहामा दृष्यावलोकन र जङ्गल सफारीको पनि योजना बनाइरहेको जनाइएको छ ।

काठमाडौँमा पनि उनीहरुको सम्मानमा भेटघाटको आयोजना गरिने जनाइएको छ । उनीहरुलाई विधान महाधिवेशनमा पारित राजनीतिक प्रतिवेदनको साराशंलाई अङ्ग्रेजी अनुवाद गरेर प्रकाशन गरिनेछ । विधान महाधिवेशन कसरी सम्पन्न भयो भन्ने जानकारीका लागि जानकारीमूलक ‘न्यू–एरा न्यू बुलेटिन’ प्रकाशन गरेर पनि उहाँहरुलाई वितरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP