
काठमाडौंको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । बुधबार कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजारनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो ।
स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्नका बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो । बुधबार दिउसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन् । सुरुको ४ घण्टा तीव्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलोसमेत निस्किएको छ ।
ग्याससँग निस्किएको हिलो र ढुङ्गा आसपासका घरहरुमा पुगेपछि स्थानीय त्रसित बनेका छन् । ग्यास निस्किएको सम्बन्धमा सुरक्षाकर्मीलाई तत्काल नै खबर गरिए नियन्त्रणका लागि हालसम्म कुनै पहल नभएको स्थानीयले बताएका छन् । भूगर्भ विभागबाट प्रतिनिधिहरू आए पनि कुनै प्रतिकृया नदिई आफैँ ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयको भनाइ छ ।
बोरिङ खन्दा ग्यास निस्किएपछि दिउँसो आसपासको करिब १ किलोमिटर क्षेत्रमा धुलो फैलिएको थियो भने साँझमा निस्किन थालेको हिलो र ढुङ्गा नजिकका घरहरूमा झरेर फोहर बनाएको छ ।