शुक्रबार , भाद्र १२, २०८३

आज कात्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह र विशेष पूजा गरी हरि बोधनी एकादशी पर्व मनाइँदैछ ।

असार शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गाे गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आज काठमाण्डौ उपत्यकाका चार नारायण भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डौका शेष नारायण र इचङ्गुनारायणमा विशेष मेला लाग्छ ।

यहाँ जान नसक्नेले काठमाण्डौको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

हरि शयनीदेखि हरि बोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दु धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिने आयुर्वेदका डाक्टर वंशदीप शर्मा खरेलले बताउनु भयो ।

पर्वका अवसरमा आज काठमाण्डौका बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाभित्र रहेको नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थलका रुपमा परिचित बूढानीलकण्ठ मन्दिर र नेपालमा रहेको चार नारायणमध्येको कान्छो नारायण मन्दिरका रुपमा परिचित तथा राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत इचङ्गुनारायण मन्दिरमा विशेष मेला लाग्ने भएकाले स्थानीय पर्वका रुपमा सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।

यस्तै तनहुँको व्यास नगरपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । यस नगरपालिका भित्रका अत्यावश्यक सेवा बाहेकका सबै सरकारी तथा निजी कार्यलय सङ्घसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिक्देलले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP