मंगलबार , भाद्र १६, २०८३

केन्द्रीय तथ्यांक विभागले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्थलगत जनगणना नगर्ने भएको छ । आजदेखि सुरु हुन लागेको १२औं राष्ट्रिय जनगणनामा नेपालको नक्साभित्र समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीका गाउँमा स्थलगत तथ्यांक संकलन नहुने विभागले जनाएको छ । भारतले अनुमति नदिएपछि सो क्षेत्रमा प्रविधिको प्रयोग गरेर अनुमानका भरमा जनसंख्या गणना गरिने भएको छ । ‘त्यो हाम्रो भूभाग हो । हाम्रो नक्साभित्र परेको भूभाग हो । तर हाम्रो सहज आवत जावत छैन । भारतको आर्मीले घेरेर बसेको छ । हामीलाई भित्र छिर्न दिँदैन,’ केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले भने ।

उनले जनगणना गर्न तीन वटा विकल्प भएको र त्यसमा एउटामात्र राम्रो विकल्प भएको सुनाए । ‘एउटा उपाय भनेको उनीहरुको सेना र हाम्रो सेना झैझगडा हुनेगरी गएर जनगणना गराउने भन्ने हो । त्यो त सम्भव भएन । दोस्रो विकल्प पहिला जस्तो केही पनि नगर्ने । केही पनि हुने भएन,’ उनले भने ।

तेस्रो विकल्पलाई श्रेष्ठले उत्तम भने । ‘त्यो के हो भन्दा यसको लागि कुटनीतिक पहल जरुरी छ । हामीले छलफल गरिसकेका छौं । परराष्ट्र मन्त्रालयले भारतसँग उच्च तहमा पहल गरेर सहज आवत जावत भयो भने हामी जनगणना गराउन तयार छौं । राम्रो विकल्प यहीँ हो,’ उनले भने ।

तर यो विकल्प पनि सम्भव छैन भन्ने श्रेष्ठलाई थाहा छ । नभए यतिका समयमा कुटनीतिक पहल भइसकेर भारतको प्रतिक्रिया आइसक्थ्यो । त्यसैले उनले अनुमानका आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानीका गाउँमा जनगणना गर्ने योजना सुनाए ।

उनकाअनुसार विभिन्न स्रोतहरु, त्यहाँ सम्बन्धित व्यक्ति र नजिक पहुँच भएका ठाउँहरुबाट प्राप्त सूचनाले ८ सयसम्म जनसंख्या रहेको देखाएको छ । यहाँका कुटी, नाभी र गुञ्जी नेपाली गाउँ हुन् । अधिकांशले भारतीय नागरिक लिएका छन् । भारतले आरक्षणमा उनीहरुलाई प्राथमिकतामा राखेको छ । यस्तो अवस्थामा तथ्यांक विभागले स्याटलाइटबाट यहाँको जनसंख्याको अनुमान गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP