मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विपक्षीलाई एमाले सिध्याउने सपना नदेख्न आग्रह गरेका छन्। मध्यपुरथिमि नगरपालिकाले दुई पोखरीमा आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान तथा ‘गन्तव्य मध्यपुरथिमि’ पुस्तकको विमोचन कार्यक्रममा उनले कसैले चाहँदैमा एमाले पार्टी सिध्याउन नसक्ने उल्लेख गरेका हुन्।

‘कसैले कुरु क्षेत्र बनाउँछु भनेका छन्, कोहीले भ्याकुम लगाएर एमाले बढार्छौं भनेका छन् रे, भक्तपुरमा आएर कुर्लनु पर्दैन, त्यस्ता सपना नदेखे हुन्छ’, अध्यक्ष ओलीले भने।

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई लक्षित गर्दै भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न आग्रह गरे। अध्यक्ष ओलीले कांग्रेस नेता थापाले भक्तपुरको एक कार्यक्रममा केही दिनअघि आगामी चुनावमा भक्तपुरबाट क्लिन स्विप गर्ने कुराको उत्तर दिँदै अध्यक्ष ओलीले काँग्रेस कहाँ पुग्यो भन्ने कुराको विचार गर्न आग्रह गरे।

‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुर तिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन्, भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, विचरा, एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगै काग्रेस कहाँ गयो, भ्याकुम क्लिनर रे एमाले सिध्याउने सपना तिनीहरुका, म त्यसमा अरु केही भन्न चाहन्नँ।’अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाललाई कुरु क्षेत्र बनाउने सपना नदेख्न पनि आग्रह गरे।

उनले सत्र हजार नेपाली जनतालाई मारेको र त्यसलाई ठेगान लगाएरै एमालेले सरकार चलाएको अवगत गराउँदै नेपाललाई धर्म क्षेत्र, शान्ति क्षेत्र, विकास क्षेत्र बनाउने बताए। अध्यक्ष ओलीले कुरूक्षेत्र बनाउने भनेर तर्साउन खोज्नेहरुलाई पराजित गरेरै यहाँसम्म आइपुगेको जिकिर गरे।

‘एक जनाले अस्ति कुरूक्षेत्र बन्छ अब भने। कुरुक्षेत्र बनाएको पनि देखियो, कुरू क्षेत्र सबै ठेगान पनि लाइयो, अब कसैले कुरु क्षेत्रका धाक नलगाए हुन्छ, नेपाल नै अब धर्म क्षेत्र हुन्छ, विकास क्षेत्र हुन्छ, यो शान्ति क्षेत्र हुन्छ, यो जनताको समृद्धिको क्षेत्र हुन्छ, समृद्ध नेपाल सुखी नेपाली भएको क्षेत्र हुन्छ नेपाल, के को कुरुक्षेत्र?’, उनले भने।

उनले कुरू क्षेत्रको धाक लगाउनेलाई चेतावनीसमेत दिए। ‘कुरुक्षेत्र बनाउने भनेर कतिले धाक लगाएका छन्, के भनेको कसलाई तर्साएको अहिले? हामीले कुरु क्षेत्र बनाएको हेर्‍यौं, सत्र हजार मान्छे मारेको हेर्‍यौं, ढुंगामा राखेर बञ्चरोको पासोले मान्छेको हड्डी फोरेको पनि हेर्‍यौं, काठ घोच्ने बर्माले मान्छेको शरीरमा घोपेको पनि हेर्यौं, ती सबै अत्याचार पराजित गरेर हामी आएका छौँ, त्यसैले हामीलाई कुरु क्षेत्रको धाक नलगाए पनि हुन्छ, हामी त्यस्ता कुराको वास्ता पनि गर्दैनौँ।’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई गणतन्त्र बिरोधी भनेको सन्दर्भ कोट्याउँदै उनले दाहालको भन्दा २५ वर्षअघि आफू गणतन्त्रको कुरा उठाउँदा जेल परेको बताए।

भक्तपुर एउटा जीवित सङ्ग्रहालय हो भन्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बोकेर हरेक क्षेत्रबाट विकासका आयाम फैलाउने अध्यक्ष ओलीको भनाइ थियो । एमाले राष्ट्र निर्माणको अभियानमा लागेको उनले चर्चा गरे।

कार्यक्रममा एमालेका नेताद्वय कृष्णगोपाल श्रेष्ठ र महेश बस्नेत, वाग्मती प्रदेशसभा सदस्य शशिजंग थापा, सरस्वती वाटी, सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए।कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले पुरातात्विक तथा पर्यटकीय स्थलहरूको तस्बिरपुस्तक विमोचन गरे। मध्यपुर थिमी नगरपालिकाले प्रकाशन गरेको ‘गन्तव्य मध्यपुर थिमी’ नाम दिइएको सो तस्बिरपुस्तकलाई फोटो पत्रकार भरतबन्धु थापाले तयार पारेका हुन्।

पुस्तकमा मध्यपुर थिमीका कला, संस्कृति, पुरातत्व र पर्यटन झल्कने ऐतिहासिक स्थलहरूको तस्बिर समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP