
कात्तिक २० गते शनिबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः०२ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाइन् । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २० गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।
झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीलगायत प्रमुख सहरमा थरी थरीका बत्ती बाल्न शुरु भइसकेको छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।
यस अवसरमा विकृतिका रूपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्या समेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रूपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो संख्यामा पटाका बरामद हुने गरे पनि पड्कन भने छोडेको छैन ।