मंगलबार , बैसाख २९, २०८३

कञ्चनपुरको बेलौरी नगरपालिकाका किसान असारेराम बडायतको काटिएको दुई बिघाको धान खेतमै डुबेको छ, तर उनले अझै आश मारेका छैनन् । अविरल वर्षाका कारण डुबेको धानमा टुसा उम्रिसके पनि उनी त्यसलाई कसरी भित्र्याउने भन्ने प्रयासमा लागेका छन् ।

धानलाई डुबाएको खेतबाट पम्पसेटको सहायताले पानी निकास गराउँदै धान निकाल्ने प्रयासमा लागेका बडायतले भने, ‘सरकार क्षतिको विवरण संकलनमै व्यस्त छ तर किसानको धान अझै पानीमा डुबिरहेको छ, त्यसलाई बाहिर निकाल्नसमेत सहयोग छैन ।’ खेतमै डुबेको धानमा टुसा आइसकेको उनले बताए । उनले भने, ‘तैपनि त्यसलाई बचाउन सकिन्छ कि भनेर हामीले प्रयास गरिरहेका छौं, बाहिर निकालेर सुकाएपछि केही धान त काम लाग्छ कि भन्ने आशा छ । हेरौं, के हुन्छ !’

बडायत जस्ता धेरै किसानको हालत उस्तै छ । खेतमा काटेर राखिएको धान डुबानमा पर्दा अहिले धानको दानामा टुसा आइसकेको छ, तै पनि केही धान जोगिन्छ कि भन्ने आशमा किसानहरु धान निकाल्ने प्रयासमा छन् ।

पाकेको धान काटेर भित्र्याउन ठिक्क पारेको अवस्थामा गत आइतबारदेखि अविरल वर्षाका कारण खेत नै डुबानमा परेको हो । पाँच दिनसम्म डुबेको धानमा टुसा उम्रिन थालेको छ ।

पानीभित्रै रहेको धान परालसहित कुहिन थालेको छ भने पानीबाट बाहिर निकालेर थुपारेर राखिएको धानमा टुसा उम्रिन थालेको कैलालीका किसान प्रकाश थापाले बताए । पछिल्लो तथ्याङ्क अनुसार कैलालीमा ७० प्रतिशत धान नोक्सान भएको छ । ‘जहाँ धेरै पानी जमेको छ, त्यहाँबाट अझै पनि धान निकाल्न सकिएको छैन, त्यस्तो धान कुहिन थालिसकेको छ । कतिपय किसानले धान बाहिर निकाले पनि त्यसमा टुसा उम्रिन थालेको छ,’ थापाले भने ।

चार÷पाँच दिनदेखि डुबेका कारण अब न धान काम लाग्ने, न त पराल नै काम लाग्ने उनको भनाइ छ । उनले भने, ‘पानीमा डुबेको धानलाई किसान आफैले निकालेर बाहिर राख्न सम्भव नै थिएन, चार दिनसम्म लगातार पानी परिरह्यो, घरबाट निस्किने अवस्था पनि थिएन, तै पनि कतिपय किसानले धान निकाल्ने प्रयास गरे तर पनि धानलाई जोगाउने अवस्था छैन ।’

उनका अनुसार सुरुमै पानीबाट निकाल्नका लागि सरकारले सहयोग गरेको भए किसानलाई केही राहत मिल्न सक्थ्यो ।

राष्ट्रिय कृषक समूह महासंघको लुम्बनी प्रदेश सचिवसमेत रहेका बर्दियाका किसान पूर्णसिंह साउद कतिपय किसानले पानीबाट धान निकाले पनि त्यसलाई सुकाउन नपाउँदा उम्रिएर टुसा पलाएको बताउँछन् । ‘किसानले जसोतसो खेतबाट उठाएको चिसो धानलाई सुकाउनसम्म पनि सरकारले सहयोग गरेको खण्डमा केही राहत मिल्थ्यो,’ उनले भने, ‘घाम लागेको छैन, धान नसुकाउने हो भने अब उम्रिएर सबै कुहिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP