सोमबार , भाद्र १५, २०८३

बेमौसमी वर्षापछिको बाढीपहिरोले पुर्‍याएको क्षति तथा पीडितको अवस्थाबारे बुझ्न बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले राहत र उद्धारमा कुनै कमी नहुने बताएका छन् । प्रधानमन्त्री देउवाले सुर्खेतमा कर्णाली प्रदेश प्रमुख, मुख्यमन्त्रीलगायतबाट प्रदेशमा बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका थिए ।मनसुन सकिएपछि भएको वर्षाका कारण निम्तिएको विपत्तिले पुर्‍याएको क्षतिले सबैलाई दुःखी बनाएको उनको भनाइ थियो । ‘जलवायु परिवर्तनका कारण यति ठूलो महाविपत्ति खेप्नुपर्‍यो,’ सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने, ‘बुधबार बसेको क्याबिनेट बैठकमा राहतको निर्णय गरिएको छ । जनधनको क्षतिको अनुगमनपछि थप राहतको व्यवस्था हुन्छ ।’

कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–९ मा पुगेर उनले बाढी प्रभावितलाई राहत र पुनःस्थापनाका लागि सरकार योजनाबद्ध ढंगले अगाडि बढ्ने प्रतिबद्धता जनाए । ‘हामी यहाँबाट फर्केर योजनाबद्ध ढंगले अगाडि बढ्नेछौं, बाढी प्रभावितलाई सम्बोधन गर्नेछौं,’ उनले भने । सुदूरपश्चिमका पहाडी जिल्लाहरू बझाङ, डोटी, बैतडी र डडेलधुराको निरीक्षणपश्चात् कञ्चनपुर पुगेका उनले महाकाली तटीय क्षेत्र तथा ब्रह्मदेवदेखि कुतियाकभरसम्म हेलिकप्टरबाटै निरीक्षण गरेका थिए ।

प्रधानमन्त्री देउवालाई दोधारा–चाँदनी नगर प्रमुख वीरबहादुर सुनारले बाढीले पुर्‍याएको असर र क्षतिका बारेमा जानकारी गराएका थिए । उनले महाकाली र जोगबुडा नदीले घेरिएको नगरक्षेत्र बाढीको उच्च जोखिममा रहेकाले यसको व्यवस्थापनमा विशेष जोड दिन आग्रह गरेका थिए । ‘अहिले पनि कुतियाकभर र सुन्दरनगर क्षेत्र निकै प्रभावित भएको छ,’ सुनारले भने, ‘महाकाली किनारमा जाइकाले बनाएको बाँध पनि जीर्ण भइसकेको छ, यसको मर्मतसम्भार हुन सकेको छैन ।’

यसअघि सेती नदीले क्षति पुर्‍याएको बैतडीको ढुंगाड पुगेका प्रधानमन्त्री देउवासमक्ष पीडितहरूले ज्ञापनपत्र बुझाएका थिए । ढुंगाड–डोटी जोड्ने भत्किएको झोलुङ्गे पुल र नदीले असर गरेको बस्ती अवलोकन गरेका देउवाले सबै ठाउँमा यस्तै भएकाले आफू काठमाडौं फर्केपछि केही निर्णय गर्ने पीडितहरूलाई आश्वासन दिए । क्षति देखेपछि राहत र पुनःस्थापनाबारे प्रधानमन्त्रीले केही प्रतिबद्धता जनाउने आसमा रहेका पीडितहरूले भने खिन्न बनेको प्रतिक्रिया दिए । ‘प्रधानमन्त्री नै बाढीग्रस्त बस्तीमा आइपुगेका बेला केही ठोस निर्णय गरेर जानुहुन्छ भन्ने आशा थियो । तर सामान्य आश्वासन पनि पाइएन,’ स्थानीय राजेन्द्र चन्दले गुनासो परे, ‘हामीले पटक–पटक डुबानमा पर्ने ढुंगाडबस्तीलाई तराईको कुनै स्थानमा सारिदिन माग गरेका छौं । अब यहाँ बस्न सकिने अवस्था छैन । प्रधानमन्त्रीले हेरेर गएपछि पक्कै यसमा पहल हुने अपेक्षा छ ।’

दुवैतर्फबाट सेती नदी बग्न थालेपछि २ सय ५० भन्दा बढी घरधुरी रहेको यो बस्ती २ दिनसम्म बाढीको चपेटामा परेको थियो । जलस्तर घट्दै गएपछि माथिल्लो क्षेत्रका विद्यालय, स्वास्थ्यचौकी र आफन्तकोमा आश्रय लिइरहेका स्थानीयहरू पुनः बस्ती फर्किन थालेका छन् । तत्काललाई बसोबास र खाद्यानको समस्या नभए पनि पछिलाई सोच्नुपर्ने वडा–५ का वडाध्यक्ष रामबहादुर बोहराले बताए । ‘खेती सबै सखाप भएकाले केही समयपछि भने बस्तीमा खाद्यान अभाव हुने देखिन्छ,’ उनले भने ।

अवलोकनका क्रममा प्रधानमन्त्रीसँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, पूर्वमन्त्रीहरू एनपी साउद र रमेश लेखकलगायतको टोलीसमेत थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP