
नेपाली फुटबल टोलीलाई पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलसम्म पुर्याउन सफल अब्दुल्लाह अल्मुताइरीले मंगलबार फिफाले अयोजना गरेको भुर्चल कार्यक्रममा प्रशिक्षककै रूपमा सहभागिता जनाएका छन् ।
साफ च्याम्पियनसिपका दौरान लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेपछि नेपालले फाइनलमा स्थान बनाएको थियो । नेपालले साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको यो नै पहिलो हो । त्यसपछि अल्मुताइरीले फाइनल नै नेपालको प्रशिक्षकका रूपमा अन्तिम खेल हुने र आफू कहिल्यै नेपाल नफर्किने बताएका थिए ।फाइनलपछि अल्मुताइरी नेपाल नआएर सिधै कतार गएका थिए । तथापि उनले फाइनलपछि आफ्नो बोली फेरिसकेका थिए । अल्मुताइरीले फाइनलपछि भनेका थिए, “म थाकेको छु । दुई साता आराम गरेपछि नेपाल फर्किने विषयमा सोच्नेछु । नेपाल मेरो मुटुमा बसेको छ । र, यहाँबाट कसैले पनि निकाल्न सक्दैन ।”
तर, उनले मंगलबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आयोजना गरेको भुर्चल कन्फेरेन्समा नेपालको प्रशिक्षककै रूपमा सहभागिता जनाएका छन् । फिफाले राष्ट्रिय टोलीका प्रशिक्षकहरुसँग ‘फुटबलको भविष्य’ विषयमा छलफल गरेको एन्फाले जनाएको छ । फिफाका ग्लोबल फुटबल डेभलपमेन्ट विभाग प्रमुख आर्सेन वेंगरले सञ्चालन गरेको उक्त भर्चुअल कन्फेरेन्स अक्टोर १९ भइसकेको छ भने अब अक्टोबर २१ मा हुनेछ ।
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि अल्मुताइरीसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै ‘नेपाली राष्ट्रिय टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आज हाम्रो छलफल’ लेखेका थिए ।
उक्त तस्बिरबारे कुरामा कर्मा छिरिङले वार्ता सकरात्मक भएको र अल्मुताइरी चाँडै नेपाल फर्किने आशा गर्न सकिने बताएका थिए ।
अल्मुताइरीले यसअघि पनि सामाजिक संञ्जालमा समर्थकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिन एन्फा जान लागेको घोषणा गरेका थिए । त्यतिबेला उनले एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई ‘मेन्सन’ गरेका थिए ।
माल्दिभ्समा भने भारतसँग १–० ले हारेपछि नेपालका प्रशिक्षक अल्मुताइरीको चर्को आलोचना भएको थियो । प्रशिक्षकले रक्षात्मक रणनीति अपनाएको भन्दै विशेषगरी सामाजिक सञ्जालकम अल्मुताइरीको चर्को आलोचना भएको थियो । त्यसबाट निराश अल्मुताइरीले फाइनलअघि एकाएक पद छाड्ने घोषणा गरेका थिए ।