मंगलबार , बैसाख २९, २०८३

छिमेकी मुलुक भारतले अहिले चरम ऊर्जा संकट भोगिरहेको छ । कोइला अभावका कारण भारतमा यस्तो संकट उत्पन्न भएको हो । त्यहाँ विद्युत् बजारको आधाभन्दा बढी हिस्सा कोइलाबाट उत्पादित बिजुलीमा निर्भर छ । तर पछिल्लो समय मागअनुसार कोइला आपूर्ति भइरहेको छैन । जसकारण विद्युत् उत्पादन घट्दै गएको हो । भारतका दिल्ली, पन्जाब र आन्ध्र प्रदेशमा ऊर्जा संकटका रूपमा ‘ब्ल्याकआउट’ भइरहेको छ ।भारतमा विद्युत् माग धान्न नसकिने अवस्थामा पुग्दा नेपालमा भने विद्युत् खेर गइरहेको छ । भारतमा देखिएको ऊर्जा संकटलाई नेपालले केही हदसम्म सहयोग पुर्‍याउन सक्ने अवस्था रहे पनि भारत आफैंले त्यसको बाटो खोलेको छैन । नेपाललाई भारतीय बजारमा विद्युत् व्यापारका लागि स्वीकृति दिइएको छैन । त्यस्तो स्वीकृतिका लागि नेपाल विद्युत् प्राधिकरणले भारतलाई पटक–पटक आग्रह गर्दै आएको छ । तर त्यहाँको विद्युत् मन्त्रालयले निर्णय गरिसकेको छैन । गत पुसमा प्राधिकरणले भारतलाई विद्युत् उपलब्ध गराउन सक्ने भन्दै टेन्डरसमेत हालेको थियो । तर उक्त टेन्डर नेपालले हात पार्न सकेन । त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यहाँको बजारमा विद्युत् व्यापारका लागि बाटो खोलिदिन गत भदौ तेस्रो साता बिहार राज्यसँग आग्रह गरेका थिए । तर केन्द्र सरकारअन्तर्गतको विद्युत् मन्त्रालयले व्यापारका लागि स्वीकृति नदिएका कारण यो विषय अल्झिरहेको छ ।

भारतमा अहिले देखिएको ऊर्जा संकटलाई नेपालले केही हदसम्म कम गर्न सक्ने दाबी गर्छन् घिसिङ । के भारतमा कोइला अभावको माग नेपालको विद्युत्ले पूरा गर्न सक्छ भन्ने कान्तिपुरको प्रश्नमा घिसिङले भने, ‘अहिले भारतमा विद्युत् अभाव हुने र हामीकहाँ खेर जाने अवस्था भयो । भारतलाई चाहिने सबै माग अहिले तत्काल पूरा गर्न त सक्दैनौं । तर त्यहाँको बजारमा नेपालले विद्युत् बेच्नका लागि भारत आफैंले स्वीकृति दिएको छैन,’ उनले भने, ‘नेपालसँग उत्पादन छ, प्रसारण संरचना पनि छ । तर व्यापार गर्नका लागि कानुनी रूपमा पाउनुपर्ने स्वीकृति हामीले पाएका छैनौं ।’ नेपालको विद्युत् भारतमा बिक्री गर्नेबारे पटक–पटक आग्रह र प्रयास गर्दा पनि कानुनी अड्चन पन्छाउन नसकिएको उनको भनाइ छ । ‘हामीले आग्रह गरिरहेका छौं । तर अझै समय लाग्छ भन्ने कुरा आइरहेको छ,’ उनले भने ।

नेपालबाट विद्युत् किन्दा भारतले तुलनात्मक रूपमा सस्तो पनि पाउँछ । माग र आपूर्तिको दैनिक अवस्थाले त्यहाँको विद्युत् मूल्य निर्धारण गरिने भएकाले अहिले महसुल दर पनि बढी छ । तर नेपालले उसलाई आधाभन्दा सस्तोमा विद्युत् उपलब्ध गराउन सक्ने घिसिङ बताउँछन् । उनका अनुसार भारतले २४ घण्टामा ९६ वटा ब्लक बनाएर विद्युत् व्यापार गर्ने गर्छ । हरेक १५ मिनेटको एउटा ब्लकमा माग र आपूर्तिका आधारमा मूल्य थपघट हुन्छ । अहिले त्यहाँ पिक आवरको विद्युत् दर प्रतियुनिट २० र औसत १२–१३ भारतीय रुपैयाँ पुगेको छ । तर नेपालले ५–६ भारतीय रुपैयाँमा विद्युत् बेच्न सक्ने उनको भनाइ छ । दैनिक रूपमै बजारमा खरिद–बिक्री गर्दा उनीहरूको मूल्य पनि माग र आपूर्तिका आधारमा बढ्ने–घट्ने भइरहन्छ ।

अहिले नेपालले भारतलाई दैनिक २–३ सय मेगावाटसम्म र रातको समयमा ४ सय मेगावाटसम्म विद्युत् उपलब्ध गराउन सक्छ । दसैंदेखि तिहारसम्मको समयमा उद्योगधन्दा नचल्ने भएकाले अझ बढी विद्युत् खेर जाने अवस्था नेपालमा छ । त्यो बेला रातको समयमा ६ सय मेगावाटसम्म विद्युत् नेपालले भारतलाई उपलब्ध गराउन सक्ने उनले जनाए । ‘यसको अर्थ अहिले दैनिक ५–६ करोड रुपैयाँ बराबरको विद्युत् नेपालमा खेर जाने अवस्था छ,’ उनले भने । उत्पादन मात्र नभई विद्युत् आपूर्ति गर्न प्रसारण संरचनामा पनि कुनै समस्या नरहेको उनले दाबी गरे । अहिले तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ढल्केबर सबस्टेसनबाट सिधै मुजफ्फरपुर गइरहेको छ । नेपालको विद्युत् भारतको केन्द्रीय प्रसारणलाइनसँग जोडिइसकेको छ । तर भारतले त्यहाँको बजारमा नेपालको विद्युत् बेच्नका लागि स्वीकृति नदिएको विषयले अहिले समस्या पारेको हो । ‘यो नीति निर्माण तहबाटै टुंगिनुपर्ने विषय हो । हामीले नेपालको प्रपोजल क्लियर गर्नुपर्‍यो भनेर भारतसँग आग्रह पनि गरिरहेका छौं । त्यो क्लियर नहुँदासम्म हामीले त्यहाँ विद्युत् व्यापार गर्न पाएनौं,’ उनले भने ।

भारतमा कोइलाको अभावलाई अहिलेको विद्युत् संकटको मुख्य कारण मानिएको छ । अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढ्दा आयात घटेको छ भने मौज्दात रित्तिँदै गएको छ । भारतभित्रै रहेका कोइलाखानीको उत्खनन वर्षात्का कारण प्रभावित भएको छ । डेढ सय हाराहारी कोइलाखानीले भारतको आधाभन्दा बढी विद्युत् माग धान्दै आएका छन् । अहिले त्यहाँ माग र आपूर्तिबीच ६ करोड युनिटसम्मको फरक रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विद्युत् संकट व्यवस्थापनका लागि सरकारी कार्यालयहरूमा पनि दिउँसो विद्युत् कटौती गर्ने तथा उद्योगधन्दाहरूलाई आलोपालो चलाउनेबारे छलफल भइरहेको बताइएको छ ।

यो समाचार आजको कान्तिपुरमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP