
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपाल एक मात्र ‘अन्डर डग’ टोली भएको दाबी गरेका छन् । उनले साफ च्याम्पियनसिपको उपाधि जित्ने सम्पूर्ण नेपालीको सपना भएको भन्दै उक्त सपना पूरा गर्न आफूहरूले कुनै कसर बाँकी नराख्ने बताए ।
‘‘दक्षिण एसियाली भारत बलियो टिम हो । यसमा कुनै शंका छैन । उनीहरूले सबैभन्दा धेरैपटक उपाधि जितेका छन्,’’ कप्तान किरणले भने, ‘‘तर, त्यसको मतलब हामी नराम्रो टिम भन्ने होइन । प्रतियोगितामा हामी अन्डर डग टिम हौँ । भारतविरुद्ध खेल्न हामीले राम्रो तयारी गरेका छौँ । भोलि प्रतिस्पर्धात्मक खेल हुनेछ ।’’भारतले सातपटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ । जारी संस्करणमा सहभागी मध्ये नेपाल मात्र उपाधि नजित्ने एक्लो टोली हो । आयोजक माल्दिभ्सले दुई तथा बंगलादेश र श्रीलंकाले समान एक/एकपटक उपाधि जितेका छन् ।
शनिबार माल्दिभ्सको मालेमा आयोजित पत्रकार सम्मेलनमा किरणले साफ च्याम्पियनसिपको उपाधि जित्नु नेपाली टोली र सम्पूर्ण नेपालीको सपना भएको बताए ।
‘‘हामीले सपना देख्नुपर्छ । सपना देखेपछि नै उपलब्धि हासिल हुने हो । साफको उपाधि जित्नु मेरो मात्र नभएर सम्पूर्ण नेपालको सपना हो,’’ नेपालबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमानधारी किरणले थपे, ‘‘त्यो सपना पूरा गर्नका लागि हामीले हरेक दिन कडा मिहिनेत गरेका छौँ । भोलि पनि त्यसका लागि लड्नेछौँ ।’’
नेपालले आइतबार भारतविरुद्ध माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समयानुसार राति ९ः४५ बजे खेल्नेछ ।