मंगलबार , बैसाख २९, २०८३

दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा आएका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुक र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबार भएको भेटमा राजदूत सुकले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पोखरा र आसपासको भौगोगिक अवस्थितिबाट आफू प्रभावित भएको उल्लेख गर्दै उनले पोखरामा स्मार्ट यातायात सञ्चालन र व्यस्थापनमा चासो व्यक्त गरे । राजदूत सुकले कोरिया गण्डकी प्रदेशको व्यापार प्रवद्र्धनमा सघाउन तयार रहेको बताउँदै नेपालका थप युवालाई रोजगारी दिनेबारेमा पनि कोरिया सरकारले थप अभ्यास गरिरहेको जानकारी दिए ।

भेटमा मुख्यमन्त्री पोखरेलले हजारौँ नेपाली युवाको उत्कृष्ट गन्तव्यका रूपमा दक्षिण कोरिया रहेको बताउँदै आयआर्जन गर्ने र प्रविधि सिक्ने राम्रो अवसरका रूपमा दक्षिण कोरियाको रोजगारीलाई उपयोग गर्ने गरेको बताए ।

नेपालमा प्रविधिको विकास तथा विस्तारमा दक्षिण कोरिया बलियो साझेदार भएको बताउँदै शिक्षा, स्वास्थ्य, ग्रामीण विकास, सुशासन, वातावरण परिवर्तन, उद्योग र ऊर्जाजस्ता क्षेत्रमा दक्षिण कोरिया सरकारको महत्वपूर्ण सहयोग रहेको उल्लेख गरे ।

दक्षिण कोरियाले अनुदान र प्राविधिक सहयोगमा विशेष चासो दिने गरेको तथ्य स्मरण गर्दै उनले कोरिया इन्टरनेशनल को–अपरेसन एजेन्सी (कोइका)मार्फत पु¥याएको योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।

प्रदेश सरकार कोभिड महामारीले थला परेको आर्थिक क्षेत्रको पुनरुत्थान र शिक्षा, स्वास्थ्य र पोषणजस्ता सामाजिक क्षेत्रको पुनर्जीवनका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको उनले बताए । स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, अस्पतालको स्तरोन्नति, आधुनिक उपकरणको प्रयोग तथा स्वास्थ्य सेवा विस्तारमा विशेष काम गर्नुपरेको उनको भनाइ छ ।

ग्रामीण क्षेत्रको विकास र गरिबी अन्त्य तथा रोजगारीको सिर्जनामा प्रदेश सरकारको विशेष चासो रहेको बताउँदै प्रदेशका उच्च प्रतिफल दिने, प्रतिस्पर्धात्मक क्षमता भएका उच्च मूल्यका कृषि, जडीबुटी आदिको उत्पादन, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी विश्वबजारमा पुग्नसक्ने बनाउन थप काम गर्नुपर्ने बताए ।

दिगो विकास लक्ष्य हासिल गर्न एकीकृत प्रादेशिक तथ्याङ्क तयार पार्ने, स्थानीय तहलाई सूचक तथा प्राथमिकता तय गर्न सघाउने, अनुगमनले कमजोर देखिएका क्षेत्रमा सुधारका लागि लगानी गर्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए। भेटमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले, प्रमुख सचिव डा दामोदर रेग्मी सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP