मंगलबार , बैसाख २९, २०८३

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको गम्भीर आरोप लगाएका छन् । अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता–कार्यकर्तालाई निर्देशन दिए ।

अनेरास्ववियूको नयाँ नेतृत्वको सपथग्रहणका लागि मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले भयरहित ढङ्गले जीवनयापन गर्न चाहेको उल्लेख गर्दै त्यसका विरुद्ध सरकार लागे प्रतिवादमा उत्रिनुको विकल्प नरहेको पटक–पटक दोहो–याए । अध्यक्ष ओलीले सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आफूहरूले आपत्ति जनाउनु परेको पनि स्पष्ट पारे ।

उनले भने, ‘सरकार निर्देशित, सरकार सञ्चालित, सरकार संरक्षित गुण्डागर्दी जुन भइराखेको छ, त्यस कुराको पनि तपाईंहरुले भण्डाफोर गर्नु पर्छ । र मैले अस्ति बोल्दा पनि भनेको छु–जनता शान्तिपूर्ण ढङ्गले बाँच्न चाहन्छ । एउटा न्यायपूर्ण समाज होस्, न्यायपूर्ण व्यवहार होस् । र त्यहाँ शान्तिपूर्ण, भयरहित सम्मानजनक व्यवहार होस भन्ने जनता चाहन्छ । शान्तिपूर्ण ढङ्गले जीवनयापन गर्न चाहन्छ । तर जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने जनताले के गर्छ ? प्रतिवाद गर्नु परेन । जनता भोलि प्रतिवादमा निस्कन्छ । अथवा असहज, अप्ठ्यारो, प्रतिकूल परिस्थिति आयो भने सरकारले त्यस्तो बेलामा साथ पाउँदैन । सबै चुप लागेर मूकदर्शक भएर हेर्छन् ।’

‘ २०१७ साल हेरे हुन्छ । २०१७ सालमा दुई तिहाइ ल्याएको काँग्रेस संसद् सबै अपदस्थ गर्दा पनि काँग्रेस केही पनि बोलेन । कोही पनि बोलेन । ३० वर्षसम्म किन चल्यो ? पछि त्यहीँ सिको गरेर ज्ञानेन्द्रले गरेको होइन ? माघ १९ । माघ १९ गर्दा ६१ सालबाट ६२ को अन्त्यमा पुग्दा त्यस रेजिमको नै समाप्त गरिदियो जनताले,’ उनले थपे, ‘त्यस शासन नै अन्त्य गरिदियो जनताले । तसर्थ जनता सचेत हुनुपर्दछ । जनतालाई सरकारले दुःख दिनु हुँदैन । लोकतन्त्र केही मानिसहरू शासनमा पुग्ने प्रणाली मात्रै होइन । जनतालाई छकाउने प्रणाली होइन, जनतालाई सेवा गर्ने, जनताको अधिकारको सुरक्षा गर्ने प्रणाली हो । सरकारले त जनताको अधिकार सुरक्षा गर्नुपर्ने ठाउँमा जनताको अधिकार खोसेर, जनतालाई दुःख दिएर, कानुनी ढङ्गले दुःख दिएर, अमानवीय ढंगले दुःख दिएर कुनै लोकतान्त्रिक आचरण भएन । हाम्रो आपत्ति त्यसमा हो ।’

अध्यक्ष ओलीले जनताको हितमा केन्द्रित भएर अघि बढ्न पनि अनेरास्ववियूका नेता, कार्यकर्तालाई सचेत गराए । उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई लक्ष्य बनाएर युवा, विद्यार्थीहरूले अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP