आइतबार , भाद्र १४, २०८३

रोहिङ्ग्या शरणार्थीहरूलाई प्रलोभनमा पारेर नेपाल ल्याएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले तीन जना विदेशीलाई मानव बेचबिखन गरेको आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

म्यानमार घर भइ काठमाडौंको बुढानिलकण्ठ- ११ कपन बस्ने २७ वर्षीय नुरूल अमिन, २७ वर्षीय शोफिक अलाम र ३० वर्षीय अज्मात उल्लालाई सिआइबीले पक्राउ गरेको हो। प्रहरी उपरीक्षक महतोका अनुसार अमिनलाई सोमबार पक्राउ गरिएको हो भने अलाम र उल्लालाई शनिबार पक्राउ गरिएको थियो।

भदौको तेस्रो साता बंगलादेश शरणार्थी क्याम्पका १४ जना वर्मली रोहिङ्ग्या काठमाडौं आइपुगेका थिए। काठमाडौं आएको थाहा पाएपछि महानगरीय प्रहरी परिसरले उनीहरूलाई नियन्त्रणमा लिएर अध्यागमन विभागमा बुझाएको थियो।

विभागले उनीहरू कसरी र कहाँबाट काठमाडौं आइपुगेका थिए भन्ने अनुसन्धान गरिरहेको थियो। त्यसैबीच सिआइबीले ती रोहिंग्याहरूलाई प्रलोभनमा पारेर मानब बेचबिखन गरी ल्याएको भन्ने सूचना पायो।

‘प्रलोभनमा पारेर शरणार्थीहरूको पैसा लिएर ल्याएको भन्ने सूचना आएपछि हाम्रो टोलीले उनीहरूको खोजी गरी पक्राउ गरेको हो,’ प्रहरी उपरीक्षक महतोले भने।

शरणार्थीहरूलाई नेपालबाट अमेरिका, यूरोप लगायतका देशहरूमा पठाइदिन्छु भन्दै उनीहरूले प्रलोभनमा पारेका थिए। नेपालमा पुगे अमेरिका जान परिचय पत्र पनि पाइने, भत्ता पनि पाइने भन्दै भ्रममा राखिएको प्रहरीले जनाएको छ।

साथै पुरूषलाई मासिक ५ हजार ७ सय ५० रुपैयाँ, महिलालाई ३ हजार ७ सय ५० रुपैयाँ र बालबालिकालाई २ हजार ७ सय ५० रुपैयाँ समेत दिइने आश्वासन दिइएको प्रहरी उपरीक्षक महतोले बताए। अनेक सुविधा पाइने आश्वासनपछि १४ जना नेपाल आउन तयार भएका थिए।त्यसबापत उनीहरूले शरणार्थीहरूबाट दुई लाख ५० हजार ‘टाका’ (बंगलादेशी मुद्रा) लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

‘शरणार्थीहरूलाई प्रलोभनमा पारेर ढाका- भारत हुँदै गाडीमा काठमाडौं ल्याइएको हो,’ उनले भने। पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यसमा अरू कतिको संलग्नता छ भन्नेबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हाल शरणार्थीहरू बुढानिलकण्ठको कपन र लसुनटारमा बसिरहेका छन्। पक्राउ परेकाहरूमाथि अनुसन्धान तथा कारबाहीको लागि मानव बेचबिखन ब्यूरोमा पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP